ईकोनोमिक खबर, शेयर बजार पछिल्ला केहि सातामा आएको सुधारले झन्डै १२ सय अंक नजिक पुगेको छ। चालु आ.ब.को अन्तिम चौमासिकको शुरुवात महिना नजिकिँदै गर्दा कारोबार रकममा आएको बढोत्तरी र सूचकमा छाएको उत्साहजनक सुधारले शेयर बजारमा पनि प्राकृतिक मौषममा वसन्त ऋतुको आगमनमा जस्तै शेयर बजारमा पनि हरियालीको संकेत गरेको छ।
विशेषत यस समयमा अधिकांश सूचीकृत कम्पनीहरुले गत वर्षको लाभांश वितरण गरिसकेको हुन्छन भने, चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण आउने क्रम शुरु हुँदा आगामी लाभांशको आंकलनमा बजारमा नयाँ लगानीकर्ताहरु प्रवेश गर्नेक्रम शुरु हुनेगर्छ। पछिल्ला केहि सातायता शेयर कारोबारमा देखिएको सुधारले पनि बजारमा लगानीकर्ताहरुले लगानी बढाउँदै लगेको बुझ्न सकिन्छ।
आइतबार सम्पन्न नेपाल सरकारको चालु आ.ब.को दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्रीले मातहतका निकायहरुबाट सम्पादन हुने कार्यहरुलाई यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन्। ।
वित्तिय सँस्थाको चालु आर्थिक वर्षको अन्तिम त्रैमासमा पूँजीगत खर्च बढ्ने हुँदा पनि वित्त बजारमा तरलता सहज हुने अनुमानमा शेयर बजारमा सकारात्मक हुनेगर्छ । बैंकिङ्ग प्रणालीमा तरलता पर्याप्त भएमा ब्याजदर घट्न सहयोग पुग्नेछ।
नेप्से सूचकसँगै कारोबार रकममा समेत सुधार आउनु बजारका लागि सकारात्मक संकेत हो । यसले लगानीकर्तामा उत्साह जगाउछ भने बजारको सुधार टिकाउ समेत हुनेगर्छ । बजारको सुधारका लागि लगानीकर्ताको मनोविज्ञानको पनि महत्वपूर्ण भूमिका रहने गर्छ। सरोकारवाला निकायहरुले बजार सुधारका कार्यहरु समेत अगाडि बढाइरहेकाले पनि लगानीकर्ताको आत्मबल बलियो बन्दै गएको छ।
ब्रोकरमार्फत मार्जिन कारोबार खुला, ब्रोकरको शाखा विस्तार, लिलामी शेयर उपत्यका बाहिरबाट भर्न पाइने सुविधा, बैंकलाई ब्रोकर लाइसेन्स प्रक्रिया लगायतले पनि सेयर बजारमा विस्तारै सकारात्मक प्रभाव देखिन थाल्ने अपेक्षा गर्न सकिन्छ।
केहि दिन यता वाणिज्य बैंकहरुको शेयरमा आर्कषित भएका लगानीकर्ता विस्तारै बीमा र अन्य समूहका शेयरमा समेत आर्कषित हुन थालेका छन । जसले गर्दा सूचकसँगै कारोबार रकममा ह्वात्तै सुधार आउन थालेको छ।
सोमबारको बजारमा नै ९० करोड बढीको शेयर किनबेच भयो । जसमा वाणिज्य बैंक समूहकै ५८ करोड बढीको कारोबार भयो । यसदिन नेप्से ९।३२ अंकले बढेर ११९१।६८ अंकमा पुगेको छ । १७० कम्पनीको कारोबार भएको बजारमा २९ लाख ५१ हजार ४७८ कित्ता शेयर ९० करोड ६९ लाख रुपैयाँमा किनबेच भयो।
आइतबार ५४ करोड ३९ लाख लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार ३६ करोड ३० लाख रुपैयाँले कारोबार रकम बढेको हो ।
सामान्यतया चैत्र, वैशाख शेयर बजारमा प्रवेश गर्ने उपयुक्त समयका रुपमा लिने गरिन्छ। वसन्त ऋतुको आगमनले प्रकृतिलाई हरियाली बनाए जस्तै यस मौसममा नयाँ लगानीकर्ता बजार पस्ने हुँदा शेयर बजारमा पनि हरियाली छाउने गर्छ ।