सिडिसी ग्रुप युकेले नेपालको इन्टरनेट कम्पनी वल्र्डलिंक कम्युनिकेशन सँगको साझेदारी


ईकोनोमिक खबर, काठमाडौं।
बेलायतको विकास वित्त संस्था (सिडिसी ग्रुप) युकेले नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशनमा एक अर्ब ३५ करोड बराबर शेयर लगानी गर्ने भएको छ । संस्थाले गुणस्तरीय इन्टरनेट जडान र स्थानीय अर्थतन्त्रलाई प्रोत्साहन गर्न लगानी गरेको बताइएको छ। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सहयोगको घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै वल्र्डलिंकका प्रबन्ध निर्देशक दिलिप अग्रवालले सिडिसीसँगको साझेदारी महत्वपूर्ण उपलब्धि भएको बताए।
सिडिसीका प्रबन्ध निर्देशक तथा एसिया प्रमुख श्रीनी नागराजनले आफूहरुको साझेदारी समुदायलाई गरिबीबाट मुक्त गर्ने काममा इन्टरनेट पुलको रुपमा काम गरोस् भन्ने मान्यताका साथ भएको बताए । उनले आफ्नो संस्थाले विश्वको धेरै देशमा विभिन्न क्षेत्रमा लगानी गर्दै आएको भएको भए पनि वल्र्डलिंक कम्युनिकेशन सँगको सहकार्य नेपालमा पहिलो भएको बताए। उनले सिडिसीले विगत ७० वर्षदेखि जनताको जीवनस्तर उकास्ने खालको दिगो विकासको क्षेत्रमा लगानी गर्दै आएको बताए।
अग्रवालका अनुसार यो सम्झौता सँगै अब वल्र्डलिंक विश्वस्तरीय कम्पनीको रुपमा रुपान्तरण भएको बताए । अग्रवालले साझेदारीसँगै अझै उत्प्रेरित भएर काम गर्ने र नेपालको ग्रामिण भेगका जनतालाई ईन्टरनेटमा पँहुच बढाउने अबको योजना रहेको बताए। अग्रवालका अनुसार सिडिसीले १० प्रतिशत शेयर लिनेछ।