ईकोनोमिक खबर, काठमाडौं।
मोतिहारी अमलेखगन्ज पाइपलाइनमार्फत डिजेल आयात गरेको नेपाल आयल निगमले अब नयाँ योजना खाना पकाउने ग्याँस एलपिजी र पेट्रोल पनि पाइपलाइनबाट भारत बाट नेपाल ल्याउने योजनाका लागी प्रथम चरणको कार्य सम्पन्न भएको छ।
भारतको मोतीहारीबाट अमलेखगन्ज हुदै चितवनसम्म एलपिजि ग्यास पाईपलाइन निर्माणका लागी निगम र आइओसी बीच विस्तार गर्ने सहमति भएको छ। अबको योजनामा भण्डारणको क्षमता सहितको पेट्रोल, ग्यास पाइपलाइन चितवनसम्म विस्तार गर्ने सहमति भएको निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले जनाएका छन।
यस योजनाको लागत करिब २५ अर्ब जति छ जसमा ग्यास, पेट्रोलियम पाइपलाइन र भण्डारणस्थल निर्माण गरिने छ। मोतीहारी, अमलेखगन्ज हुँदै चितवनसम्म ग्यास पाइपलाइन निर्माण गर्न ११ अर्ब १९ करोड र ग्यास भण्डारण स्थल निर्माण गर्न तीन अर्ब ८१ करोड रुपैयाँ लाग्ने छ। त्यसैगरी, अमलेखगन्जबाट चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्न पाँच अर्ब ६७ करोड र चितवनमा पेट्रोलियम भण्डारण स्थल बनाउन चार अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान छ। मुलुकको आवश्यकतालाई ध्यानमा राखेर पाइपलाइन विस्तार गर्न लागिएको भट्टराईले बताए। ‘वर्षौंदेखि पाइपलाइन विषयमा गृहकार्य गर्दै आएका थियौं,’ भट्टराईले भने, ‘अब यसले मूर्त रुप लिने भएको छ।’
मोतीहारीदेखि चितवनसम्म ग्यास पाइपलाइन एक सय ३१ किलोमिटर हुने निगम अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले बताए। यादवका अनुसार अमलेखगन्जदेखि चितवनसम्मको पेट्रोलियम पाइपलाइन ६२ किलोमिटर हुने छ।
यहि शनिबार पाइपलाइन रुटमा पिलर गाड्ने कार्यक्रमका लागि आपूर्तिमन्त्री मातृका यादव र आइओसीको पाइपलाइन परियोजना प्रमुख रमेश चौधरी अमलेखगन्ज पुगेका छन्। ‘आइओसीका प्रतिनिधिको रोवहरमा रुट तोकिन्छ,’ डिपो प्रमुख यादवले भने।
पाइपलाइन विस्तारका लागि रुट फाइनल भएको छ। मोतीहारी–अमलेखगन्ज ग्यास पाइपलाइन रुट अहिले पेट्रोलियम पाइपलाइन बिछ्याएको पाइपसँगसँगै हुने छ। अमलेखगन्जदेखि चितवनसम्म ग्यास र पेट्रोलियम पाइपलाइन पनि सँगसँगै बिछ्याइने छ। चितवनसम्म निर्माण गरिने पाइपलाइन पूर्वपश्तिम राजमार्गको छेउछेउबाट ल्याइने छ।
मोतीहारीबाट अमलेखगन्जसम्म पाइपलाइन निर्माण गरेपछि अहिले चौबीसै घण्टा पाइपमार्फत डिजेल आयात भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत भदौ २४ गते पेट्रोलियम पाइपलाइनको संयुक्त रुपमा उद्घाटन गरेका थिए। अलिे पाइपलाइनमार्फत प्रतिघण्टा एक सय ७० किलोलिटर डिजेल आयात भएको यादवले बताए।