ईकोनोमिक खबर, काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताउनुभएकोछ। चौथौ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिनेछ। उहाँले भन्नुभयो– हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थालाई पनि यसले यसै अवधिमा मूल धारमा फर्काउन सफल भएको छ । जो अझै बाटो भुलिरहेका छन् उनीहरुलाई पनि मूल धारमा आउन ढिला नगर्न मेरो आग्रह छ। प्रधानमन्त्री ओलीले सम्बोधनमा आफ्नो कार्यकालको हालसम्मको अवधिमा भएका आर्थिक विकास र उपलब्धिका बारेमा पनि बताउनु भयो।
मा.सुवासचन्द्र नेम्वाङ
नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संबिधानको पक्ष र प्रतिपक्ष नहुने बताउनुभएको छ । संबिधान दिवशको अवसरमा आज काठमाडौंमा आयोजित संबिधानका चार बर्ष, कार्यान्वयनमा चुनौती बिषयक अन्र्तक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। संबिधान दिवशलाई मान्दैनौ भन्ने दलहरु नै संबिधानअनुसार भएको निर्बाचन र त्यसपछि बनेका सरकारमा सहभागि भएकाले संबिधान सर्वस्वीकार्य दस्तावेजको रुपमा स्थापित भएको उहाँको तर्क छ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला
कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संबिधानको आलोचना गरेर मात्र नबस्न आग्रह गर्नुभयो । संघिय समाजबादी पार्टी र राष्ट्रिय जनता पाटीलाई लक्षित गर्दै उहाँले प्रदेश सरकार र संघिय सरकारमा सहभागि हुने तर संबिधान मान्दैनौ भन्न नपाइने बताउनुभयो।
महेन्द्रराय यादब
तर, राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका एक सदस्य महेन्द्रराय यादबले भने राज्य अहिले पनि एकात्मक शासन प्रणालीमै चलेको आरोप लगाउनुभएको छ।
सरकारको उर्दिमा संविधानविद्का धारणा यसप्रकार छन।
संविधानविद् भिमार्जुन आचार्य
संविधान जुनसुकै सुन्दर विधिबाट बनाउनुस्, यदि त्यसको कार्यान्वयन सही ढङ्गले गर्न सक्नुभएन भने, त्यसमा गरिएका प्रतिबद्धता पूरा गर्न सक्नुभएन भने संविधानलाई मान्छेले आफ्नो दस्तावेज मान्दैन। संविधानको अपनत्व, स्वामित्व सरकारी उर्दीबाट हुँदैन, मान्छेको दिलबाट, मान्छेको मस्तिष्कबाट, भावनाबाट यो दस्तावेज मेरा लागि बनाइएको हो, मेरो हित, मेरो अधिकारलाई संविधानले संरक्षण गरेको छ । त्यो अनुभूत गर्यो भने मात्र मानिसले संविधान दिवस मनाउँछ। जतिबेला संविधानमा लेखिएका कुरा कार्यान्वयन हुन्छन्। संविधानमा गरिएका प्रतिबद्धता पूरा हुन्छन्।
संविधानविद् डा. विपिन अधिकारी भन्नुहुन्छ, “संविधानको कानुनी पक्षमा मुलुकभित्र दर्जनौँ नयाँ कानुन निर्माण भई कार्यान्वयनमा आइसकेको छ, अहिलेसम्मको संविधान कार्यान्वयनको अवस्थालाई म सन्तोषजनक भन्छु तर यसलाई अझ राम्रो बनाउन सकिन्थ्यो । कार्यान्वयनको गुणस्तरलाई अझ धेरै कायम गर्न सकिन्थ्यो किनभने अहिले हामीसँग दुई तिहाइको सरकार छ, स्थिरता छ, कुनै बाधाविरोध छैन। ”