ईकोनोमिक खबर, काठमाडौं।
युवा उद्यमीको नेतृत्व विकास, सिर्जनशीलता र सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने यूएनडीपी नेपालको सहयोगमा नेपाल युवा संस्था सञ्जाल (आयोन), राष्ट्रिय युवा परिषद् र युनुस सोसियल बिजनेस सेन्टर किंग्स कलेजको आयोजनामा बुधबारबाट दुई दिन सम्म काठमाडौमा भएको तेस्रो युथ को–ल्याब तथा चौथो राष्ट्रिय सामाजिक उद्यम प्रतियोगिताको उपाधि डुलुवाले हात पारेको छ।
उपाधिसँगै डुलुवाले नगद रू १ लाख सँगै विश्व उद्यमशीलता फोरोम, स्विजरल्यांडमा हुने विश्व स्तरीय प्रतियोगितामा सहभागीको अवसर पाउने भएको छ । यस्तै गरि दोश्रो उपाधि डिजिटल साथी र तेस्रोमा आवास भएको छ ।
द्रोश्रो र तेस्रो समूहले नगद ५० हजार सहित युथ को–ल्याव समिटमा सहभागी जनाउने अवसर पाउनेछन्। उत्कृष्ट पाँचमा यश.एम. बि. पि. र इम्प्याक सिड परेका छन्। उत्कृष्ट पाँचमा पर्नसफल समुहलाई नगद रू ५० हजार प्रदान गरिएको आयोजकले जनाएको छ।
समापन कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार)ले विकास र समृद्ध नेपाल निर्माणमा युवा जनशक्तिको स्रोतलाई परिचालन नगरे सम्म सरकारले आफ्नो लक्ष्य हासिल गर्न नसक्ने बताउनुभयो । युवा जनशक्तिहरूको उद्यमशीलताको चाहाना अनुरूप सरकारले युवा परिचालनलाई विशेष रूपमा लैजाने बताउनुभयो । वर्तमान सरकारले युवा उद्यमशीलता विकास गर्न विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको स्पष्ट पार्र्दै उहाँले सामाजिक, आर्थिक र सांस्कृतिक पाटोसँग युवालाई जोड्नुपर्ने बताउनुभयो।
आयोजकले करिब दुई महिनाको समय लगाएर सातवटै प्रदेशबाट १५० भन्दा बढी युवा उद्यमी समुहहरूबाट छनोट गरी उत्कृष्ट १० युवा उद्यमीको बिच अन्तिम प्रतिस्पर्धा गरेको थियो । युवा उद्यमीको नेतृत्व विकास, सिर्जनशीलता र सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने गरी कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा उत्कृष्ट १० युवा उद्यमीका समूहले आ–आफ्ना उद्यमका बारेमा प्रस्तुतीकरण दिएका थिए। कार्यक्रममार्फत सबै क्षेत्रका युवालाई नेपालमा सामाजिक उद्यमको अवस्था बुझ्न, सामाजिक उद्यमशीलताका लागि आवश्यक जानकारी प्राप्त गर्न र आफ्नो व्यवसायलाई अझै मजबुत र सामाजिक परिवेश सुहाउँदो बनाउन साझा मञ्च प्रदान रहेको विश्वास लिइएको छ ।
कार्यक्रमको समापन समारोहमा बोल्दै नेपाल युवा संस्था सञ्जाल (आयोन) का अध्यक्ष जग्दिश ऐरले युवाका नवीन सोचलाई व्यावसायिक बाटो देखाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । ‘मुलुकका विभिन्न क्षेत्रमा छरिएर उद्यम गर्न इच्छुक युवाहरूलाई एकै ठाउँमा ल्याएर छलफल गर्ने र उहाँहरूका समस्या बुझ्ने एउटा प्रयास हो,। यस कार्यक्रम उद्यम गरिरहेका युवाहरूको अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुतिको अवसर प्रदान गर्नु प्रमुख उद्देश्य हो ।
आयोन सातै प्रदेशमा रहेका ९२ युवा संस्थाको छाता सङ्गठन हो । सन् २००५ मा स्थापना भएको यस संस्थाले युवाको नीति निर्माणमा सहभागिता, युवा पैरवी, क्षमता अभिवृद्धि तथा युवासँग सम्बन्धित अनुसन्धान लगायत कार्य सञ्चालन गर्दै आएको छ ।