ईकोनोमिक खबर, काठमाडौं।
सरकारले लागू गरेको सन्दर्भ व्याजदरले सहकारी सञ्चालन गर्न नसकिने भन्दै व्याजदर बृद्धि गर्न सहकारीहरुले पहल गरेका छन् । सहकारीहरुले हाल बचतमा १२ देखि १४ प्रतिशत सम्म ब्याज दिदै आएका छन् । तर बचत र ऋणको व्याजदरको अन्तर ६ प्रतिशत भन्दा कम रहने गरी सन्दर्भ व्याजदर तोकिएपछि सहकारीहरुले बचत ब्याजदर १० प्रतिशत दिनुपर्ने हुन्छ । यो बैंकहरुले दिंदै आएको ब्याजदर भन्दा कम हो ।
ब्याजदर कम भएपछि बचत पनि कम हुने र भएको बचत पनि भुक्तानी गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले सहकारीहरुलाई अप्ठ्यारो हुनसक्ने भन्दै १६ प्रतिशत सन्दर्भ ब्याजदरलाई बृद्धि गर्न माग गरिएको हो । राष्ट्रिय सहकारी संघ काठमाडौंले सन्दर्भ ब्याजदरले सहकारी सञ्चालनमा जटिलता ल्याउने दावी गरेको छ ।
संघका सञ्चालक सुमन केसी भन्नुहुन्न्छ ‘सन्दर्भ ब्याजदर अनुसार अब हामीले १० प्रतिशत ब्याज दिनुपर्ने हुन्छ जुन बैंकहरुको भन्दा कम हो । हिजोको दिनमा बैंकको भन्दा बढी सहकारीको बचत ब्याजदर थियो र पो बचत गर्न आएका थिए । कम भएपछि त को आउँछ ? अनि सहकारी टाट पल्टिदैनन् ?’ बचतमा बढी ब्याज दिइएकाले ऋणमा बढी ब्याज लिने गरेको संघले जनाएको छ ।
केसीका भन्नुहुन्छ ‘बचत ब्याजदर घटाउने बित्तिकै बचतकर्ताहरु रकम झिक्न आइपुग्छन् । सबै बचतकर्ताले एकै पटक बचत निकाल्न चाहे भने सहकारीले उनीहरुलाई एकै पटक रकम फिर्ता गर्न सक्दैन । यसले झन जटिल अवस्था सिर्जना गर्छ ।’’
सन्दर्भ ब्याजदर सकारात्मक सोचका साथ लागु गरिए पनि नकारात्मक असर पर्ने संघको दावी छ । नकारात्मक असर रोक्नका लागि व्याजदरको सीमा अलिकति बृद्धि गर्नुपर्ने उनीहरुको सुझाव छ । बचत र ऋणबीचको मार्जिन कम हुँदा समस्या हुने सञ्चालक केसीको भनाई छ । उहाँ भन्नुहुन्छ ‘१६ प्रतिशतलाई १७ वा १७.५ बनाउँदा पनि समस्याको हल हुनसक्छ । अझैपनि केही बिग्रिएको छैन । तर बिग्रियो भने जताततै एकचोटी बिग्रिन्छ सम्हाल्ने कसले ?
सहकारी विभागले भने सहकारीहरुले भनेजस्तो समस्या झेल्नु नपर्ने र आत्तिहाल्नु पर्ने अवस्था नरहेको जनाएको छ । विभागका रजिष्टार डा. टोकराज पाण्डे भन्नुहुन्छ ‘बिषय ठिक छ अलिकति बुझाउन ढिलाई भयो कि भन्ने लागेको छ, सहकारीहरुले भनेजस्तो समस्या आउदैन ब्याजदर सान्दर्भिक छ, व्यवस्थापन हुन्छ, सहकारीको विकास गर्ने विभागको पनि काम हो, आत्तिहाल्नु पर्दैन ।’
विभागले साउन १९ गतेबाट सहकारी संस्थाहरुको ऋण र बचतमा सन्दर्भ व्याजदर लागु गरेको छ । सहकारीमा पहिलो पटक सन्दर्भ व्याजदर तोकिएको हो । विभागका अनुसार देशभर ३४ हजार ८ सय ३७ वटा सहकारी संस्थाहरु छन् । नेपालको कुल गार्हस्थको ५ प्रतिशत हिस्सा सहकारीले ओगटेको छ।