ईकोनोमिक खबर, काठमाडौं।
सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को नाफामा एक वर्षमै ७ अर्ब २७ करोड रुपैयाँले कमी आएको छ । आ.ब.२०७४/७५ मा कुल १७ अर्ब ४८ करोड ३८ लाख नाफा गरेको कम्पनीले गत आ.ब. २०७५/७६ मा १० अर्ब २० करोड ८१ लाखमात्र आम्दानी गरेको छ ।
अघिल्ला आर्थिक वर्षको तुलनामा गत आ.ब.मा कम्पनीको नाफामा ४८.६१ प्रतिशतले गिरावट आएको हो । टेलिकमले बिहीबार प्रकाशित गरेको वार्षिक वित्तीय प्रतिवेदन अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा गत वर्षको नाफा सवा ७ अर्ब रुपैयाँले कमी रहेको उल्लेख छ।
टेलिकमले मोबाइल सेवाको नवीकरण वापत गत वर्ष ४ अर्ब रुपैयाँ बुझाएकोले पनि मुनाफामा कमी आएको देखिएको हो । तर, समग्रमा कम्पनीको वित्तीय अवस्था पनि सन्तोषजनक भने छैन।
टेलिकमको नाफा घट्नुमा समय सापेक्ष सेवा विस्तार गर्न नसक्नु, अन्तर्राष्ट्रिय कलवाट हुने आम्दानी घट्नु, एडीएसएल र फिक्स्ड लाइनका ग्राहक घट्नुका साथै मोबाइल लाइसेन्स वापतको शुल्क भुक्तानी नै मुख्य कारण रहेका छन्। कम्पनीले सेवाबाट गर्ने आम्दानीमा ठूलो गिरावट आएको छ।
गत आ.ब.को बैशाखदेखि असारसम्म टेलिकमले २ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ नाफा गरेको थियो । जबकी अघिल्लो आ.ब.को सोही अवधिमा ४ अर्ब ८६ करोड ९० लाख रुपैयाँ नाफा गरेको थियो ।
२०७५/७६ मा कम्पनीले ४३ अर्ब ४८ करोड आम्दानी गरेको थियो भने अघिल्लो आवमा ४५ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेको थियो । खासगरी ‘ओभर दी टप सर्भिस’को लोकप्रियताका कारण भ्वाइसबाट हुने आम्दानी घट्दा कम्पनीको आम्दानी घटेको छ, प्रतिस्पर्धी बजारमा टेलिकमले आफ्नो सेवालाई विविधीकरण गर्न नसक्दा नाफामा गिरावट आएको जानकारहरू बताउँछन्।
पछिल््ला तीन वर्षमा टेलिकमले सेवावाट गर्ने आयमा क्रमशः गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा दूरसञ्चार सेवावापतको आम्दानी २ अर्ब ७३ करोडले घटेको छ । कम्पनीले यस्तो सेवामार्फत ३६ अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरेको छ । टेलिकमले यस वर्ष ४ अर्ब २ करोड रुपैयाँ लाइसेन्स शुल्क भुक्तानी गरेको छ। यसले नाफामा प्रभाव पारेको कम्पनीकी प्रवक्ता प्रतिभा वैद्यले बताइन्।
कम्पनीको अन्य आम्दानी ७।२३ प्रतिशतले बढेर ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको छ। आम्दानीमा गिरावटसँगै प्रशासनिक खर्च भने ११ प्रतिशतले बढेको छ। गत वर्षमा यस्तो खर्च १ अर्ब ५० करोड रुपैयाँ छ।
यस्तो खर्चमा कर्मचारीको तलब भत्तादेखि अन्य प्रशासनिक खर्च पर्ने गरेको उनले बताइन्। वित्तीय प्रतिवदेनअनुसार कम्पनीको कुल खर्च १४ प्रतिशतले बढेको छ। जम्मा खर्च २४ अर्ब ६५ करोडबाट २८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ।
पछिल्लो समय टेलिकम्युनिकेसनहरूको भ्वाइस कलमार्फतको आम्दानी इन्टरनेटको सुलभताका कारणले घट्दै आएको हो । डाटा सेवालाई प्राथमिकता दिए पनि कम्पनीले बजारमाग अनुसार सेवा विस्तार गर्न नसक्दा अपेक्षाकृत लाभबाट चुकेको सरोकारवालाको भनाइ छ ।
कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छभने जगेडा कोषमा ८६ अर्ब ७३ करोड रुपैयाँ जम्मा भएको छ। मोबाइल सेवामा कम्पनीले लाइएसेन्स शुल्कमा तिर्नुपर्ने २० अर्बको किस्तावापतको ४ अर्ब २ करोड ६९ लाख रुपैयाँ तिरेको छभने अघल्लिो वर्ष २०७४र७५ मा ६ करोड ४७ लाख रुपैयाँ मात्रै बुझाएको थियो।
कर्पोरेट ट्याक्स २५ बाट बढेर ३० प्रतिशत पुगेपछि त्यसको असर नाफामा देखिएको कम्पनीका अधिकारीको भनाई छ । कम्पनीले गत वर्ष ९० करोड रुपैयाँ कर्पोरेट ट्याक्स वापत बुझाएको छ।
प्रविधिको विकाससंगै फिक्स्ड लाइन ग्राहक मोवाइलमा गएसंगै पीएसटीएन र एडीएसएलको आम्दानी पनि घटेको प्रवक्ता वैद्यले बताइन्। आउने दिनमा आम्दानी बढाउनका लागि कम्पनीले भ्यालु एडेड सेवामा जोड दिने र फोरजी विस्तारलाई प्राथमिकता दिने उनले बताइन्।
टेलिकममा नेपाल सरकारको ९१.४९, सर्वसाधारणको ४.४४, कर्मचारीको ४.०४ र नागरिक लगानी कोषको ०.०३ प्रतिशत शेयर स्वामित्व रहेको छ । टेलिकमको मोबाइल र आधारभूत टेलिफोन सेवा गरेर २ करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन्।