ईकोनोमिक खबर, भगवान् बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि काँशीको बाटो भएर कपिलवस्तु आउँदै थिए। एकान्त सुनसान जंगलमा एउटा मानिस देखे।
त्यसले पसिना, पसिना भएर जमिन खोस्रिरहेको थियो। त्यो देखेर बुद्ध उसको नजिक पुगे। हेरिरहे। मानिसले औजार बिसायो। हातले खोस्रियो। जमिनबाट माटोको घडा झिक्यो। घडामा लागेको माटो पुछपाछ गरेर ढकन उर्घायो। ढकन उघार्दा घडा सुनका असर्फीले भरिएको थियो। त्यो देखेर ऊ खुसीले चिच्चायो। उसको मुहारमा कान्ति देखियो।
त्यतिन्जेल बुद्धले त्यस मानिसलाई हेरिरहे। बुद्धसँग त्यस मानिसले भन्यो, ’सन्त महाराज तपाईंको उपस्थितिले मलाई यो धनदौलत प्राप्त भएको हो, त्यसैले यो घडा तपाईंलाई अर्पण गर्दछु।’ भगवान् बुद्धले उसको आग्रहलाई तत्काल अस्वीकार गरिदिए। त्यो देखेर बुद्धसँगै रहेका शिष्यले साधे? शिष्यको जवाफ दिँदै बुद्धले ’यो घडामा विष भरिएको छ। त्यसैले मैले अस्वीकार गरेको हँु,’ भने। बुद्धको जवाफ सुनेपछि शिष्यले भन्योे, ’घडामा त असर्फी थिए, विष त थिएन।’
बुद्धले फेरि उसलाई जवाफ दिँदै भने, ’मलाई थाहा छ, त्यो असर्फी नभएर विष हो।’ शिष्यले बुद्धको जवाफ बुझ्न सकेन। त्यो संवाद सुनेको त्यो मानिसले यसलाई विष मान्नुहुन्छ भने मैले भन्नु केही छैन। मैले यही विषमा उन्नति र सुख समृद्धि देखेको छु, भन्दै असर्फीको घडा बोकेर त्यो मानिस घरतर्फ लाग्यो। बुद्ध पनि आफ्नो गन्तव्यतर्फ लागे।
मानिसले घरमा पुगेर असर्फीको घडा बिसायो। त्यो देख्दा उसको परिवारमा खुसीको सीमा रहेन। हेर्दाहेर्दै त्यो गरिब मानिस धनवान् र सम्पन्न बन्यो। उसको सम्पन्नता देखेर उसका छिमेकीले ईष्र्या गर्न थाले र त्यस राज्यका राजाकहाँ पुगेर ऊजुरी गरे। हाम्रो छिमेकी, रातारात धनवान् बनेको छ, उसकहाँ नभएको केही छैन। राजाले भोलिपल्ट सिपाही पठाएर त्यस मानिसलाई दरबारमा बोलाए। राजाबाट बोलावट भएपछि त्यो मानिस दरबारमा हाजिर भयो। तिमी त रातारात धनवान् भयौ रे, कसरी? उसले आफूले भेट्टाएको घडाका बारेमा बतायो। राजा उसको जवाफ सुनेपछि रिसले चुर हुँदै भने, ’त्यो घडा भेट्टाएपछि, मकहाँ हाजिर हुन आउनु पर्दैन्थ्यो? त्यो असर्फीको घडा दरबारबाट केही समयअघि हराएको थियो।’ राजाले उसलाई अह्राउँदै भने, ’जाऊ, जस्ताको तस्तै त्यो घडा लिएर आऊ।’ त्यो मानिसले राजालाई जवाफ दियो, ’घडाको असर्फी त सबै बेचिसके, त्यही धन दौलतले भूमि र घर जोडे।’ उसको जवाफ सुनेर राजा झनै रिसले चुर भए। तत्कालै आफ्ना सिपाहीलाई आदेश दिए, यसको सारा धनसम्पत्ति जफत गर। साथै, यसलाई र यसको परिवारलाई पनि बन्दी बनाएर कैद गर।’ राजाको आज्ञाअनुसार त्यस मानिसका बालबच्चा र वृद्ध आमासहित उसलाई बन्दी बनाइयो। सम्पत्ति पनि सबै जफत गरियो। त्यसरी एकाएक बन्दी भएपछि त्यस मानिसलाई बुद्धका शब्दको याद आयो। बुद्धले त्यो असर्फीको घडालाई किन विष भनेका रहेछन् भनेर बुझ्यो।
राजा वर्षमा एकपटक आफ्नो राज्यमा बन्दीगृहका बन्दी भेट्न जाँदा रहेछन्। राजाको भेट नयाँ बन्दी त्यस मानिससँग भयो। उसले भेटमा राजासँग भगवान् बुद्धलाई भेट्ने इच्छा प्रकट गरेछ। राजा उसको बिन्ती सुनेर अक्क न वक्क भएछन्। फेरि सोधे, ’किन बुद्ध भेट्नुर्पयो?’ आफूले त्यो असर्फीको घडा भेट्दा बुद्धले विष भनेको प्रसंग उसले सुनाएछ। ’त्यही घडाका कारण आज म र मेरो परिवार बन्दी हुनुर्पयो, त्यसैले उहाँसँग क्षमा माग्न चाहन्छु,’ राजासँग भनेछ। राजाले पनि बुद्धका बारेमा सुनेका थिए तर भेटेका थिएनन्। बन्दीको कुरा सुनेपछि भोलिपल्ट राजाले बुद्धलाई आफ्नो दरबारमा आउन निमन्त्रणा पठाए। बुद्ध त्यतिन्जेल कपिलवस्तुबाट काँशी फर्किसकेका रहेछन्। राजाको निमन्त्रणा पाएको केही दिनपछि बुद्ध राजाको दरबार पुगे। राजा, रानी र मन्त्री सबैले बुद्धको दर्शन गरे।
राजाले बुद्धलाई त्यस बन्दीको आग्रह सुनाउँदै बन्दीगृह पुग्न आग्रह गरे। बुद्ध पनि राजाको आग्रहलाई स्विकार्दै बन्दीगृह पनि पुगे। त्यहाँ पुग्दा उनले त्यस मानिसलाई देखे र त्यस मानिसले पनि बुद्धलाई चिनिहाल्यो र पाउ र्पयो। बुद्धले उसलाई सोधे, ’कुशल मंगल? अनि यहाँ किन कसरी?’ त्यस मानिसले रुँदै बन्दीगृह आइपुग्नुको बिस्तार बुद्धलाई सुनायो।
उसले नढाँटी सबै कुरा सुनाएपछि बुद्धलाई राजालाई भनेर मुक्त गराइदिऊँ भन्ने लागेछ। बुद्धले तत्काल राजालाई भनेछन, “घडा भेट्टाएर सम्पन्न हुनु, उसको कुनै दोष छैन। त्यति बेला म त्यहीं उपस्थित थिएँ। त्यो असर्फीको घडा उसले मलाई टक्रयाएको थियो, मैले नलिएपछि उसले लिएको हो। त्यसैले यसलाई बन्दीगृहबाट मुक्त गरिदिनोस्।” राजाले पनि बुद्धको आग्रहलाई मानेर परिवार र त्यस मानिसलाई मुक्त गरिदिए।
बुद्धको महिमा र वचनको कदर भएको देखेपछि त्यस मानिसका परिवारले बुद्धका शिष्य हुने निर्णय गरे। त्यस बन्दी मानिसका परिवारसँगै राजा पनि बुद्धका शिष्य बने।