ईकोनोमिक खबर, काठमाडौं।
साताको कारोबार मध्ये चारै दिन शेयर बजार ओरालो लागेको थियो। शेयर बजारमा बुधवार भएको सामान्य सुधारले कारोबार रकम बढाउन नसक्दा लगानीकर्ताको मनोबल बढाउन सकेन।
नेप्से परिसूचक २५.२८ अङ्कले ओरालो लाग्दा र कारोबार पनि ह्वात्तै घट्दा लगानीकर्ता केहि निराश बनेका छन्। नेपाल राष्ट्र बैङ्कको नयाँ निर्देशन र पुँजीगत लाभकरको विवादका कारण नेप्से परिसूचक सँगै कारोबार पनि अघिल्लो साताको तुलनामा झण्डै ६७ चार करोडले गिरावट आएको हो।
अघिल्लो साताको अन्तिम दिन १२६३.८४ अङ्कबाट शुरु भएको शेयर बजार साताको अन्तिम दिन १२३८.५६ अङ्कमा पुगेर रोकिएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा ३.७७ अङ्कले ओरालो लागेर २६८.०१ अङ्क रह्यो।
साताको शुरुमा पुँजीगत लाभकर नसुल्झिदा तनाबमा रहेका लगानीकर्तालाई साताको अन्त्यमा नेपाल राष्ट्र बंैकको निर्देशनले पनि निराश बनायो। साताको मध्यतिर अर्थ मन्त्रालयले पुँजीगत लाभकरको विषय टुंग्याउन नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएपछि लगानीकर्तामा उत्साह आएपनि त्यो दिगो हुन सकेन । यता नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि यसलाई टुंगोमा पु¥याउन सकेको छैन।
लगानीकर्ता कृष्ण पोख्रेल बोर्डको बेवास्ताको कारण शेयर बजारले गति लिन नसकेको बताउनुहुन्छ। राष्ट्र बैङ्क र अर्थ मन्त्रालय शेयर बजारप्रति सकारात्मक नबनेपनि यसको रक्षार्थ बोर्डको सक्रियता देखिनुपर्नेमा उहाँको जोड छ । केन्द्रीय बैङ्कले गत सोमबार स्प्रेडदरको गणना विधि परिमार्जन गर्दै त्यसमा सरकारी सुरक्षणबाट प्राप्त आम्दानीलाई नजोड्ने व्यवस्था गरेपछि बैङ्कहरूको नाफा २५ प्रतिशतभन्दा बढीले घट्ने अनुमानसँगै लगानीकर्ताको मनोबल खस्किएको हो।
स्प्रेड गणनाको सुत्र परिवर्तन गर्दा बैङ्कहरुको नाफा २५ प्रतिशतसम्मले घट्ने अनुमान गरिएको छ। पुँजीकोष अनुपात बढाउने व्यवस्थाले पनि लगानी खुम्चिने भएकाले बैङ्क तथा वित्तीय संस्थाको वर्चस्व रहेको शेयर बजार प्रभावित बनाएको कतिपयले विश्लेषण गरेका छन्।
साथै, भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणनामा निकालिएको अन्यौलता समाधान भई नसकेकाले पनि लगानीकर्ता उत्साहित हुन नसकेका हुन्।
अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई यो समस्या समाधान गर्न निर्देशन दिइसकेको हुँदा लगानीकर्ता आशावादी हुने ठाउँ बाँकी रहेको छ। तुलनात्मक रुपमा मूल्य कम भएकाले यतिबेला शेयर किन्ने लगानीकर्तालाई जोखिम भने छैन। सूचीकृत कम्पनीहरुले नाफा बृद्धि गरेकै छन्। अब केही समयपछि लाभांश घोषणा गर्ने क्रम सुरु हुँदा यतिबेला सेयर किन्नेले छोटो समयमै लाभांशको हकदार हुन सक्नेमा शंका नरहेको विश्लेषक जगदीश शर्माको भनाई छ।