
ईकोनोमिक खबर, काठमाडौं।
नेपालमा हाल नेपालीपन भएका गीतहरु लोप हुँदै पश्चिमा संगीतको प्रभावले नेपाली गीत संगीतमा असर पर्दै गएको छ। मौलिक नेपाली संस्कृतिलाई संरक्षण गर्ने खालका गीतहरु कमै बन्ने गरेको अवस्थामा गायिका शोभा सत्यालले बुढासुब्बा म्युजिक सेन्टरको युट्युब च्यानल मार्फत हिउचुली गीत तथा भिडियो सार्वजनिक गरेकी छिन्।
सानैदेखि संगीत र साहित्य क्षेत्रमा रुची राख्ने गीतकार तथा गायिका शोभा सत्यालले नेपाली गीत, संगीतको क्षेत्रमा यस भिडियोले थप टेवा दिने आशा राखेकी छिन। आफ्नो गीत संगीत प्रतिको मोह र यसक्षेत्रमा नै केही योगदान दिने भावना बोकेकी शोभा सत्यालले पहिलो लोक तथा आधुनिक गीत सार्वजनिक गरेकी हुन्। यस गीतमा उनको आफ्नै शब्द, संगीत र स्वर भरेकी छिन। यस गीतको संगीत संयोजन मनोहर सुनामले गरेका छन् भने गीत रेकर्ड भोला पौड्याल तथा भिडियो छायांकन र सम्पादन सुरेन्द्र श्रेष्ठले गरेका छन्। यस गीतमा नेपालीपन झल्काउनको लागि नेपाली पहिरन चौबन्दी, चोली, फरीया, पटुकी, शिरबन्दी सहित आफ्नै छोरी दृष्टी सत्यालको प्रस्तुती ज्यादै नै राम्रो रहेको छ।
नजिकिदै गरेको तीजमा महिला दिदी बहिनीहरुलाई नाच्न पनि मिल्ने यो गीत धेरैको रोजाईमा परिरहेको छ। एकै किसिमका गीतहरु बजारमा आईरहँदा दर्शक श्रोताहरुको फरक चाहना मध्यनजर गर्दै लोक आधुनिक गीतका माध्यमबाट पनि प्रशस्तै मनोरञ्जन दिने प्रयास गरेको पाइन्छ । यस गीतमा डाँडाबाट झुल्किएको घामले हिमाल टल्किँदा हिउचुलीमा तिम्रो मुहार देख्छु र म जता जान्छु हिमालले मलाई पछ्याईरहन्छ तर मलाई तिमीले पछ्याए जस्तो लाग्छ भन्ने भावकासाथ तीजको व्रतको प्रभावले जुरेको हाम्रो माया दुनियालाई देखाउने मन छ भन्दै आफ्नो श्रीमानसँगको मायाको कथा गीतले बोकेको पाइन्छ।