ईकोनोमिक खबर, काठमाडौं।
हिजोराती देखि परेको वर्षाका निरन्तरताका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोले ८ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । काभे्रमा २ जना, भोजपुरमा २, रौतहट, सिन्धुली रामेछाप र ललितपुरमा १÷१ जनाको मृत्यु भएको छ।
काभ्रेको बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल रहनुभएको छ । त्यस्तै ३० वर्षीया शुशिला दंगाल र तीन महिने बालिका अनुश्का घाइते छन् ।
रामेछापमा पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन्।
भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको छ । त्यस्तै भोजपुरकै टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको छ।
ललितपुरको बागमती गाउँपालिका–२ माल्टा बगुवामा पन्चलाल जिम्बाको घरमाथिको ढिस्को भत्किएर घरमा क्षति पुग्दा उहाँका १३ वर्षिय छोरा सरोज जिम्बाको मृत्यू भएको महानगरिय प्रहरी वित्त चापागाउँले जनाएको छ।
रौतहटको लाल बकैया खोलामा मोटरसाइकलसहित खोलामा डुब्दा इशनाथ नगरपालिका ३ औरैयाका ३५ वर्षीय रामपुकार पटेलको मृत्यु भएको छ।
सिन्धुलीको फिक्कल गाँउपालिकामा गाईवस्तुलाई कुँडो खुवाइरहेको अवस्थामा माथिबाट आएको पहिरोले गोठ बगाउँदा फिक्कल गाउपालिका १ महादेवडाँडाका ३५ वर्षीया हेमकुमारी सुनुवारको घट्नास्थलमा नै मृत्यु भएको गाँउपालिका उपाध्यक्ष पार्वती राईले जानकारी दिनुभयो । पहिरोले बगाएर एउटा गाई, बाच्छो, एउटा माउ बाख्रा र पाठोको पनि मरेका छन्।
बर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा अहिलेसम्म पाँच जना वेपत्ता भएका छन् । खोला तर्ने क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ स्थित नुँवा खोलाले बगाएर खेसेङखोपाका होली चायल्डमा अध्ययनरत आठ वर्षीय जीवन राई बेपत्ता भएका छन्। महोत्तरीको रातो खोलामा आएको बाढीले बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएर बेपत्ता बनाएको छ । त्यसैगरी, खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनाका साथै तीन बेपत्ता भएका छन् । चार दिनदेखि लगातार परेको वर्षाका कारण झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते हुनु भएको छ भने उहाँकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका छन् ।
अबिरल बर्षाका कारण मुलुकका बिभिन्न राजमार्ग अबरुद्ध भएका छन् । पाल्पाको तिनाउ–५, केराबारीमा वर्षाका कारण सिद्धार्थ राजमार्ग अबरुद्ध भएको छ । सिन्धुलीको गोलन्जोर र सुनकोशी गाउँपालिकामा पहिरो खसेपछि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । रौतहटमा अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएसँगै दुवैतर्फका सवारी गन्तव्यमा जान नसकेर रोकिएका छन् । पाँचथरको फाल्गुनन्द–३, मेची राजमार्ग्स्थित पाङग्रेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । मकवानपुरको ईन्द्रसरोवर–५ महालक्ष्मी खोला नजिक पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ । बिभिन्न ठाउँमा अबरुद्ध भएका सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ । यस्तै वर्षाका कारण पृथ्वी राजमार्ग, मुग्लिङ सडकखण्ड पनि अबरुद्ध भएको छ । त्यसैगरि बर्षाका कारण देशका बिभिन्न भुभाग डुवानमा परेको छ ।