Feb 24, 2025

जनताको अपेक्षा अनुरुप सरकारले आर्थिक विकासमा गति लिन सकेन–अर्थमन्त्री डा. युवराज खतिवडा


ईकोनोमिक खबर, काठमाडौं।

राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको आर्थिक बृद्धि र स्थायित्वका लागि नेपाल राष्ट्र बैंकको भूमिका प्रभावकारी हुने विश्वास ब्यक्त गर्नु भएको छ। बालुवाटार स्थित नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यालयको नयाँ भवनको आज शिलन्यास गर्दै उहाँले आर्थिक क्षेत्रको प्रबद्र्धन र नियमका साथै अनुशासन कायम राखी उच्च आर्थिक बृद्धि र स्थायित्वका लागि राष्ट्र बैंकको भूमिका प्रभावकारी हुने विश्वास ब्यक्त गर्नुभयो।

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुक अहिले आर्थिक क्षेत्रकै पुनःनिर्माणको चरणमा रहेको उल्लेख गर्दै सरकारले आर्थिक बृद्धिका साथै सामाजिक न्यायमा आधारित वितरणलाई पनि उत्तिकै प्राथमिकता राखेको बताउनुभयोे। नेपालको वित्तीय क्षेत्र दक्षिण एसियाकै सफलता तर्फ अघि बढेको जनाउदै नेपाल वित्तीय स्थायित्वको युगमा प्रवेश गरेको बताएका छन । ‘अहिले नेपालमा धेरै जसो वित्तीय परिसुचकहरु राम्रो छ,’ सरकारको नीति अनुरुप बैंक खाता खोल्ने क्रमिक रुपमा बृद्धि भइरहेको छ।

हरेक नेपालीमा बीमा गर्ने पनि उत्तिकै वृद्धि भएको छ । अहिले सरकार राष्ट्रिय अर्थतन्त्र पुनर्निर्माणको क्रममा रहेकाले यस्तो अवस्थामा जनताले सोचे अनुरुपको विकास गर्न नसकिएको खतिवडाको भनाई छ। ‘संघियता अनुरुप वित्तीय, आर्थिक तथा प्रशासनिक प्रणालीमा सुधार तथा आर्थिक स्थायित्वको काम गर्न जरुरी छ,’ उनले भने, ‘सरकार यसै काममा लागेको हुनाले जनताको अपेक्षा अनुरुप सरकारले आर्थिक विकासमा गति लिन नसकेको हो ।’ साथै उनले राष्ट्र बैंक स्वायत्त निकाय भएको र स्वायत्त संस्थाले जवाफदेहितामा ध्यानदिनुपर्ने बताए । स्वायत्त निकायमा जवाफदेहिता नभए अराजकता आउने भन्दै त्यसतर्फ ध्यान दिन उनको आग्रह थियो ।

यसैगरी गभर्नर डा. चिरञ्जिवी नेपालले पछिल्लो समय राष्ट्र बैंक आफ्नो लक्ष्य र उद्देश्यप्रति दृढ रहेको जानकारी दिँदै बैंक तथा वित्तीय संस्था लगायत समग्र परिसुचकहरुमा क्रमिक सुधार आएको उनले बताए ।

२०७२ सालको विनाशकारी भूकम्पबाट बालुवारटार स्थित बैंकको केन्द्रिय कार्यालयमा क्षति पुगेको थियो । २ अर्ब ८ करोडको लगानीमा साढे ६१ रोपनी क्षेत्रफलमा निर्माण हुने भवन अत्याधुनिक हुने राष्ट बैंकले जनाएको छ । आगामी दुई वर्षमा निर्माण सम्पन्न हुने भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय कार्यान्वयन एकाइको बार्षिक योजना बजेटबाट बन्न लागेको हो।