काठमाडौं । गभर्नर अधिकारीले बैंकरहरूका लागि रिकोभरी नै मुख्य चुनौती रहनुका साथै साइबर सेक्युरिटी पनि अर्को चुनौती रहेको बताए ।
बुधबार नेपाल बैंकर्स संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गभर्नर अधिकारीले भने, ‘बैंकिङ क्षेत्रमा जे-जस्ता परिवर्तन भएपनि राष्ट्र बैंकको काम भनेको बैंकिङ क्षेत्रलाई सुरक्षित राख्नु हो । विगतमा भूकम्प, कोरोना महामारी जस्ता चुनौती भोग्नु पर्यो । कयौं उतारचढावका बीच पनि नेपालको बैंकिङ स्थिर छ । यस्ता थुप्रै चुनौतीका बीच पनि कुनै क्षति हुन दिएनौं ।’
उनले नेपालको बैंकिङ क्षेत्रलाई गर्व गर्नुपर्ने बताए, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कयौं उतारचढावका बीच पनि नेपालको बैंकिङ स्थिर रहेको बताएका छन् ।
गभर्नर अधिकारीले बैंकलाई जोगाउन प्रोभिजन धेरै गर्न लगाएको बताए ।
उनले भने, ‘बैंकलाई जोगाउन प्रोभिजन धेरै गर्न लगाएको हो । सेयरधनीले लाभांश बढी खान्छ भनेर प्रोभिजन गर्न लगाएको होइन । खराब कर्जा बढ्दो छ । यसलाई कम गर्न सबै गर्न लगाइएको हो ।’
उनले ब्याजदर सस्तो हुँदा पनि कर्जा असुली नभएको बेलामा रेमिट्यान्स आउँदा सहज भएको बताए ।
उनले राष्ट्र बैंकको एउटै नीति सधैं नरहने र राष्ट्र बैंकले पनि समय परिस्थितिको आधारमा नीतिगत व्यवस्था परिवर्तन गर्दै आएको बताए ।