काठमाडौँ। रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट परीक्षणका मट्टितेल पनि आयात भएको छ।
बुधबार एक हजार किलोलिटर मट्टितेल पनि ल्याइएको नेपाल आयल निगमका अमलेखगन्जस्थित प्रादेशिक कार्यालय प्रमुख प्रलयंकर आचार्यले बताए।
‘पहिलो लटमा एक हजार किलोलिटर मट्टितेल आयात गरी सफल परिक्षण भएको छ,’ प्रमुख आचार्यले भने।
निगमले पुसबाट पेट्रोल र मट्टितेल पाइपलाइनबाटै निरन्तर आयात गर्ने तयारी गरिरहेको छ। त्यसकै तयारी स्वरुप बुधबार मट्टितेल पनि आयात गरिएको प्रमुख आचार्यले जनाए ।
दोस्रो चरणअन्तर्गत पाइलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्ने लक्ष्य सफल भएको छ। यसअघि डिजेलमात्रै आयात भएको पाइपलाइनबाट गत असोज १७ मा ५ हजार ५ सय किलोलिटर पेट्रोल ल्याएको थियो ।
पाइपलाइनबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्नसमेत सहयोग पुग्ने निगमले जनाएको छ ।
ढुवानी भाडा र समय बचत, प्रदूषण नियन्त्रण, परिमाण र गुणस्तरको सुनिश्चितता हुनेछ ।
पाइपलाइन २०७६ भदौ २४ बाट औपचारिक रुपमा उद्घाटन भएको थियो ।