ऋणपत्रको मूल्य पनि शेयरको जस्तै माग र आपूर्तिको आधारमा निर्धारण हुने गर्छ । तर, यसको प्रतिफल दर निश्चित हुने र जोखिम पनि कम हुने भएकाले सेयर बजार जस्तो बजार हल्लाले यसको माग र आपूर्तिमा धेरै असर गर्दैन । यसको मागलाई प्रभाव पार्ने प्रमुख तत्त्व बने बजार ब्याजदर र परिपक्व अवधिलाई मानिन्छ ।
बजारको ब्याजदर भन्दा ऋणपत्रको ब्याजदर बढी छ भने यसको मूल्य अङ्कित मूल्यभन्दा धेरै हुन्छ, यस्तो अवस्थामा परिपक्व हुने समय जति धेरै बाँकी छ, उति धेरै मूल्य हुने अवस्था रहन्छ ।
त्यसको विपरीत बजार ब्याजदरभन्दा ऋणपत्रको ब्याजदर कम छ भने यसको मूल्य अङ्कित मूल्यभन्दा तल आउँछ । यस्तो अवस्थामा परिपक्व अवधि जति धेरै हुन्छ त्यति नै मूल्य कम हुने अवस्था देखिन्छ ।
अहिले अधिकांश डिबेञ्चरको मूल्य बजार ब्याजदरभन्दा माथि छ । त्यसैले अधिकांश डिबेञ्चरको बजार मूल्य अङ्कित मूल्यभन्दा माथि देखिएको हो ।
बजारका धेरैजसो डिबेञ्चरको मूल्य १० देखि १०.५ प्रतिशतसम्म रहेका छन् । १०.३५ प्रतिशत ब्याजदर रहेको कृषि विकास बैंकको २०८३ मा परिपक्व हुने डिबेञ्चर मूल्य ११३५ रहेको छ ।
त्यस्तै, १०.२५ प्रतिशत ब्याजदर भई २०८६ सालमा परिपक्व हुने कुमारी बैंकको डिबेञ्चर ११७० रुपैयाँमा अन्तिम कारोबार भइरहेको छ । एनआईशी एसियाको २०८५/८६ मा परिपक्व हुने १० प्रतिशत ब्याजदर रहेको डिबेञ्चर समेत ११०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अहिले बजारमा सबैभन्दा कम ब्याजदर भएको ऋणपत्र एनएमबि बैंकको इनर्जी बण्ड २०९२/९३ हो । यसको ब्याजदर सबैभन्दा कम अर्थात् ४ प्रतिशत रहेको छ । त्यस्तै, कृषि विकास बैंकको कृषि वण्डको ब्याजदर समेत ४ प्रतिशत नै रहेको छ । यी डिबेञ्चर सूचीकृत भए पनि हालसम्म दोस्रो बजारमा कारोबार भएका छैनन् ।
हालसम्म सूचीकृत भई कारोबार समेत भएका ऋणपत्रमध्ये सबैभन्दा कम ब्याज भएको ऋणपत्र नेपाल इन्फास्ट्रक्चर बैंकको ऊर्जा ऋणपत्र हो । ७ प्रतिशत ब्याजदर रहेको र २०८५/८६ मा परिपक्व हुने यो ऋणपत्रको मूल्य अहिले ९८५ रुपैयाँ रहेको छ ।