ईकोनोमिक खबर, काठमाडौं।
आज १६ औं धान दिवस विभिन्न स्थानमा रोपाइ गरेर दिवस मनाइदैछ। मुठी खाएर मुरी उब्जाउने महिनाको रुपमा असार र यहि महिनाको १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदैछ। यो वर्ष ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनिकरण’ नारा तय गरिएको छ। राष्ट्रिय कृषि अनुसन्धान परिषदले ललितपुरको खुमलटारमा रोपाँई तथा जलपान आयोजना गरेको छ ।
नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । यसरी असार १५ नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गित गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। अहिलेका युवामा खेतका गराको हिलोमा एकआपसमा छ्यापाछ्याप गरेर रोपाहार र बाउसेको भूमिका केटा केटीहरु मनोरञ्जन गर्छन्। खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्। आज गाउँठाउँका हुने खानेले बेठी लगाएर धान रोपाइँ गर्छन्। यसरी धान रोपाइँ गरे खेतबाट धानमा सह बसी मनग्य उत्पादन हुने विश्वास रहेको छ।
कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ । दही वैज्ञानिक, आयुर्वेद दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ। दहीले पाचन शक्ति पनि बढाउँछ।
नेपालमा खेती गरिने बालीमध्ये धान मुख्य खाद्यान्न बालीको रुपमा लिईन्छ, यसको खाद्यान्नमा योगदान ५८/६० प्रतिशत छभने कृषिजन्य कुल गार्हस्थ्य उत्पादनमा योगदान २० प्रतिशत छ। धान खेतिहुने कूल क्षेत्रफलको ४८ दशमलब ३ प्रतिशत जमिनमा धान खेती गरिन्छ जसमध्ये क्षेत्रफल १५ लाख हेक्टर क्षेत्रमा धान खेति गरीन्छ, सरकारले ५ बर्षमा कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य लिएको छ, चालु आ.ब.मा ५६ लाख १० हजार मे.टन धान उत्पादन भयो, यो लक्ष्य अहिले सम्मकै उच्च उत्पादन हो, चालु बर्षमा मनसुनेले राम्रो साथ दिएको थियो. अहिलेको बर्षमा जम्मा १२ प्रतिशतमा मात्र रोपाइँ भएको छ, मनसुन १० दिन ढिलो शरुहुनाले त्यसको उत्पादनमा नै असर पर्ने विज्ञहरुको भनाई छ।