नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएका उत्पादन उपसमुहमा रहेका सिमेन्ट उद्योगहरुमा शिवम् सिमेन्ट वित्तीय सूचकहरुमा सबैभन्दा अब्बल देखिएको छ ।
कुल चार वटा कम्पनीहरु सूचीकृत भएकामा व्यापार, चुक्ता पुँजी, खुद नाफा जस्ता सूचकमा शिवम् सिमेन्टले लिड गरेको हो ।
नेपाल स्टक एक्स्चेञ्ज नेप्सेमा शिवम् सिमेन्ट्स लिमिटेड, घोराही सिमेन्ट् इण्डष्ट्री लिमिटेड, सर्बोत्तम सिमेन्ट लिमिटेड र सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड गरी चार कम्पनी सूचीकृत छन् ।
सूचीकृत भएका सबै कम्पनीको चुक्ता पुँजी ३ अर्बभन्दा माथि छ । जसमा सबैभन्दा कम पुँजी भएको सोनापुर मिनिरल्सको ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ छ भने सबैभन्दा कम पुँजी हुनेको दोस्रो स्थानमा रहेको घोराही सिमेन्टको ४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार रुपैयाँ छ । थोरै पुँजी हुने तेस्रो स्थानमा रहेको सर्बोत्तम सिमेन्टको ४ अर्ब ६५ करोड हुँदा सबैभन्दा धेरै पुँजी हुनेमा रहेको शिवम् सिमेन्ट्सको ५ अर्ब २ करोड ७० लाख रुपैयाँ छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विबरण अनुसार सर्वोत्तम सिमेन्टको व्यापार सबैभन्दा धेरै अर्थात १ अर्ब ४५ करोड ५२ लाख रुपैयाँ छ । व्यापारका आधारमा दोस्रो स्थानमा रहेको शिवम् सिमेन्टले पनि १ अर्ब ४० करोड ६३ लाख रुपैयाँको सिमेन्ट बिक्री गरेको छ भने तेस्रो स्थानमा रहेको घोराही सिमेन्टको ६६ करोड ८५ लाख रुपैयाँ छ । अन्तिम तथा चौथो स्थानमा रहेको सोनापुरले ३४ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ ।
कारोबार रकमका आधारमा सर्वोत्तम अग्रस्थानमा भए पनि खर्च पनि धेरै भएका कारण कम्पनी खुद नोक्सानीको अवस्थामा छ । सबैभन्दा धेरै खुद नाफा कमाएको शिवमले १ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अरु तीनवटै कम्पनीहरु नोक्सानीको अवस्थामा छन् । सर्बोत्तम सिमेन्ट २ करोड २६ दाख रुपैयाँको खुद नोक्सानीमा छ भने सानापुर ८ करोड ५५ लाख तथा घोराही ५१ करोड रुपैयाँ खुद नोक्सानीको अवस्थामा छ ।