काठमाडौं, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यहीँ आउदो २०८१ साल पौष ११ र १२ गते तद् अनुसार २०२४ डिसेम्बर २६ र २७ तारिखका दिन काठमान्डौमा नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्न लागेको जानकारी गराउदछौँ । यो महत्वपूर्ण कार्यक्रमको उद्देश्य साझेदारीको प्रवर्द्धन, ज्ञान आदानप्रदान र नेपालको स्वास्थ्य क्षेत्रमा भएका चुनौतीहरूको सामना गर्नका लागि विश्वव्यापी विशेषज्ञता उपयोग गर्नु हो। यस वर्षको विषयवस्तु “नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन” (Connecting Diaspora for Healthcare Strengthening) रहेको छ। यसले विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी प्रमुख चुनौतीहरूको समाधान खोज्न र संवाद गर्न सहज गर्नेछ। सम्मेलनले प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालाहरूलाई नजिक ल्याई आपसी सिकाइ र दीर्घकालीन रणनीतिहरू निर्माण गर्न कोशे ढुङ्गा साबित हुनेछ।
सम्मेलनको उद्देश्य प्रवासी नेपालीहरूको विशेषज्ञता, स्रोत र साझेदारीमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याउन सक्ने योगदानको पहिचान गर्नु, विश्वव्यापी र स्थानीय स्वास्थ्य प्रदायकहरूबीच ज्ञान आदानप्रदानको सुविधा प्रदान गर्नु, अनुसन्धान र तालिमका अवसरहरूको प्रवर्द्धन गर्नु र प्रवासीहरूको दीर्घकालीन सहभागिता सुनिश्चित गर्नका लागि नीतिगत पहलहरू पहिचान गर्नु रहेको छ।
यस कार्यक्रम निम्न क्षेत्रहरूमा केन्द्रीत रहनेछ:
• प्रवासी नेपालीहरूको सहभागितामा विश्वव्यापी अभ्यासहरू: सफल प्रवासी सहभागिता मोडेलहरूबाट सिक्ने र तिनलाई नेपालको सन्दर्भमा अनुकूल बनाउने उपायहरूको खोजी गर्ने।
• ई-स्वास्थ्य र आधुनिक स्वास्थ्य सेवा समाधानहरू: डिजिटल उपकरणहरू र प्रविधिहरूको प्रयोगले स्वास्थ्य सेवामा ल्याउन सक्ने सुधार र प्रभावबारे पहिचान गर्ने।
• दीर्घकालीन सहभागिताका लागि नीतिगत संवाद: प्रवासी समुदायहरूसँगको साझेदारी सुदृढ गर्न नीतिगत ढाँचाहरूमा छलफल गर्ने।
• अनुसन्धान, शिक्षा, र नवप्रवर्तन: स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन अघि बढाउन अनुसन्धान र शैक्षिक पहलहरूलाई प्रोत्साहन गर्ने
हामी सबै स्वास्थ्यकर्मीहरु, अनुसन्धनकर्ता र संस्थाहरूलाई यो महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौँ।
सहभागिताका लागि नाम दर्ता गर्न कृपया स्वास्थ्य र जनसंख्या मन्त्रालयको आधिकारिक वेबसाइटमा गई प्रविष्टि गर्न सकिन्छ ।
थप जानकारीको लागि, [email protected] मा सम्पर्क गर्न सक्नुहुन्छ।
नेपाल स्वास्थ्य सम्मेलन २०२४ मा सहभागी भइ नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउनका लागि अर्थपूर्ण छलफल र नवीन समाधानहरूमा आफ्नो योगदान दिनुहुन सरोकारवाला सबैमा अनुरोध छ।