काठमाडौं। उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ, र जियोइन्जिनियरिङको क्षेत्रमा थुप्रै चुनौती रहेको बताएका छन् ।
काठमाडौंमा आज सुरु भएको दिगो पूर्वाधारका लागि जियोटेक्निक्स विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले जलवायु परिवर्तन, भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपले नेपालमा ठूलो असर पुर्याएको चर्चा गरे ।
“नेपालमा भूकम्प र बाढीपहिरोले देशलाई ठूलो क्षति पुर्याएको छ। जलवायु परिवर्तन र ग्लोबल वार्मिङले थप चुनौती खडा गरिरहेको छ । यस्तो अवस्थामा दिगो पूर्वाधार निर्माणका लागि जियोटेक्निक्सको भूमिका महत्वपूर्ण छ,” उनले भने ।
सिंहले अव्यवस्थित सहरीकरण, नदी किनार अतिक्रमण, कमजोर इन्जिनियरिङ संरचनाहरू, तथा निर्माण प्रविधिमा कमीले समस्या झन् जटिल भएको बताए ।
उनले सम्मेलनलाई युवा तथा भू-प्राविधिक इन्जिनियर र भू-वैज्ञानिकहरूका लागि दिगो विकास र आधुनिक प्रविधिबारे सिक्न उपयुक्त मञ्च हुने विश्वास व्यक्त गरे ।
नेपाल जियोटेक्निकल सोसाइटीले आयोजना गरेको तीनदिने सम्मेलनमा २५ भन्दा बढी देशका १५० अन्तर्राष्ट्रिय प्रतिनिधि र ३०० भन्दा बढी सहभागी रहेको छ ।
आयोजक संस्था अध्यक्ष मन्दिप सुवेदीका अनुसार सम्मेलनमा १५ जना प्रमुख वक्ता, १६ विशिष्ट वक्ता, र ९० भन्दा बढी प्राविधिक पत्रहरू प्रस्तुत हुनेछन् ।
सम्मेलन शुक्रबारसम्म चल्नेछ र यसले नेपालमा जियोटेक्निक्सको प्रभावकारी प्रयोगमार्फत दिगो पूर्वाधार निर्माणमा सहयोग पुर्याउने विश्वास गरिएको छ।