काठमाडौं। नेपाल आर्मीका मुकेश पाल र काठमाडौंकी सन्तोषी श्रेष्ठ गरिमा रोड रेसमा शनिबार पहिलो भएका छन् । १० किलोमिटर दूरीको पुरुषमा मुकेश र महिलामा सन्तोषी पहिलो भएका हुन् ।
गरिमा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा मुकेशले निर्धारित दूरी ३१ मिनेट ३६.२ सेकेन्डमा पूरा गरे । सञ्जय श्रेष्ठ ३१ मिनेट ५८.३ सेकेन्डमा दोश्रो तथा गजेन्द्र राई ३२ मिनेट १४.६ सेकेन्डमा तेश्रो भए । नरेन्द्रसिंह रावल चौथो तथा अजितकुमार यादव पाँचौं स्थानमा रहे । दोश्रोदेखि चौथो स्थानमा रहने खेलाडी पनि आर्मीकै हुन् भने अजित नेपाल प्रहरीका हुन् ।
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता एवं ओलम्पियन सन्तोषीले निर्धारित दूरी तय गर्न ३६ मिनेट ४३.३५ सेकेन्ड खर्चिन्।
३७ मिनेट ५४.१९ सेकेन्डमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोश्रो तथा ३८ मिनेट ४३.८१ सेकेन्डमा आर्मीकै सुनसरी रोकाय तेश्रो बने ।
एपीएफका आशा रावत र फुलमति राना क्रमशः चौथो र पाँचौं भए ।
कर्पोरेटतर्फ पुरुष ५ किलोमिटर दूरीमा शेर्पालय ट्रेक्स एन्ड एक्सपिडिसन प्रा.लि.का मिङमारसिंह तामाङ पहिलो, राइजिङ एकेडेमी काठमाडौंका सुमन भण्डारी दोश्रो, एसियन लाइफ इन्स्योरेन्सका कृष्णराज रोकाया तेश्रो, ट्राभल एन्ड टुरिजमका विकेश घिमिरे चौथो र मदरल्यान्ड सेक्युरिटी प्रा.लि.का विशाल भण्डारी तामाङले पाँचौं स्थानमा दौड टुंगाए ।
सोही विधा र दूरीको महिलातर्फ नाजारथ स्कुलकी रजिना दुलाल, सानिमा रिलायन्सकी स्वस्तिका कार्की र श्रीशा भण्डारी, महालक्ष्मी विकास बैंककी संगिता लामा तथा गरिमा विकास बैंककी निर्मला कुमालले क्रमशः पहिलोदेखि पाँचौं स्थान हात पारे।
चारै विधामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजारका दरले नगद पुरस्कार पाए।
रेस लाजिम्पाटस्थित गरिमाविकास बैंकको केन्द्रीय कार्यालयबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको थियो।
विजेतालाई दक्षिण एसियाली खेलकुद का कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, आयोजक गरिमा विकास बैंक अध्यक्ष श्यामप्रसाद बस्याल, गरिमाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सोही अवसरमा कात्तिक १४ गते भएको महिला साफ फुटबल च्याम्पियनसिपको फाइनलमा प्रत्येक गोलवापत टिमलाई १ लाख प्रदान गर्ने पूर्वघोषित पुरस्कार पनि गरिमाले प्रदान गरेको थियो । फाइनलमा बंगालदेशले नेपाललाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको थियो ।