मलेसिया रोजगारीमा २५ म्यानपावरको सूचीले तरंग, ‘सिन्डिकेट’ रोक्न सरकार र व्यवसायी एकमत


“वैदेशिक रोजगार व्यवसायी संघद्वारा २५ कम्पनीसँग स्पष्टीकरण, श्रम मन्त्रालयले पनि सूची मान्य नहुने स्पष्ट पार्‍यो”!!!

काठमाडौं । मलेसिया रोजगारीमा नेपाली श्रमिक पठाउन २५ वटा वैदेशिक रोजगार व्यवसायी कम्पनीलाई मात्र अवसर दिने गरी भएको भनिएको सूचीकरणले वैदेशिक रोजगार क्षेत्रमा नयाँ विवाद जन्माएको छ। सीमित कम्पनीलाई मात्र पहुँच दिने व्यवस्थालाई सिन्डिकेटको प्रयास भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध जनाएको छ भने श्रम मन्त्रालयले पनि त्यस्तो सूची मान्य नहुने स्पष्ट पारेको छ।

मलेसियाको फरेन वर्कर सेन्टर म्यानेजमेन्ट सिस्टम (FWCMS/एसडब्लूसिएमएस) पोर्टलमा नेपालका २५ वटा म्यानपावर कम्पनीलाई ‘रिक्रुटमेन्ट एजेन्सी’का रूपमा सूचीकृत गरिएको विषय बाहिरिएपछि व्यवसायी संघले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो।

संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले वैधानिक रूपमा इजाजतपत्र लिएर सञ्चालनमा रहेका सबै म्यानपावर कम्पनीलाई समान अवसर दिनुपर्ने बताउनुभयो। उहाँले मलेसिया मात्र नभई कुनै पनि रोजगारदाता मुलुकमा सीमित कम्पनीमार्फत मात्र श्रमिक पठाउने व्यवस्था स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो।

२५ कम्पनीमाथि संघको निगरानी

सिन्डिकेटमा नाम जोडिएका भनिएका २५ वटा म्यानपावर कम्पनीसँग संघले स्पष्टीकरण मागेको जनाएको छ। संघले वैदेशिक रोजगार क्षेत्रमा एकाधिकार कायम गर्ने प्रयास भए त्यसविरुद्ध आवश्यक कारबाही अघि बढाउने संकेतसमेत दिएको छ।

संघका प्रथम उपाध्यक्ष महेश बस्नेतले सीमित म्यानपावर कम्पनीलाई मात्र रोजगारीको पहुँच दिँदा स्वस्थ प्रतिस्पर्धा समाप्त हुने बताउनुभयो।

उहाँका अनुसार प्रतिस्पर्धा खुम्चिँदा त्यसको असर व्यवसायीमा मात्र नभई रोजगारी खोजिरहेका नेपाली श्रमिकसम्म पुग्नेछ। “सीमित म्यानपावर कम्पनीलाई मात्र अवसर दिँदा प्रतिस्पर्धा खुम्चिन्छ र त्यसको प्रत्यक्ष असर अन्ततः नेपाली श्रमिकमाथि पर्छ,”