काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको नाफामा भारी गिरावट देखिएको छ । असोज मसान्तसम्म आइपुग्दा कम्पनीहरुको नाफा गत वर्षको सोही अवधिमा तुलनामा ८६.०२ प्रतिशतले घटेको हो ।
प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीहरुको नाफा १६ करोड ६५ लाख ८० हजार रुपैयाँ रहेको छ । जबकी गत वर्षको असोज मसान्तसम्म कम्पनीहरुले एक अर्ब १९ करोड १६ लाख रुपैयाँ नाफा कमाएका थिए ।
गत असोज १० देखि १२ गतेसम्म भएको अविरल बर्षाका कारण आएको बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ । बाढी पहिरोका कारण बीमा कम्पनीहरुमा दावी बढेपछि कम्पनीहरुको नाफा पनि प्रभावित भएको हो ।
बाढी पहिरोले भौतिक सम्पत्ति क्षति पुग्दा बीमा कम्पनीहरुमा साढे १० अर्ब रुपैयाँ भन्दा बढीको दावी सिर्जना गरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिक २१ गतेसम्म २८ बीमा कम्पनीहरुमा १० अर्ब ५३ करोड २७ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।
जसमध्ये कम्पनीहरुले ४७ करोड ११ लाख ५८ हजार रुपैयाँ बराबरको रकम भुक्तानी गरेका हुन् । यस अवधिमा कम्पनीले ६३७ वटा दाबीमा सो रकम बराबरको भुक्तानी गरेका हुन् ।
तथापी उक्त रकम आंशिक अग्रिम दावी भुक्तानी मात्रै हो । पूर्ण तथा अन्तिम दावी भुक्तानी भने सर्भेयरको अन्तिम प्रतिवेदन आएपछि मात्रै हुनेछ । बाढीले बीमा दावी बढाउने भएपछि कम्पनीहरु जोखिम बापत राख्नुपर्ने प्रोभिजनीङ रकम बढाउनु पर्दा कम्पनीहरुको नाफा प्रभावित भएको हो ।
सञ्चालनमा रहेका १४ बीमा कम्पनीहरुमध्ये चार कम्पनी नोक्सानीमा रहेका छन् । यसका साथै छ कम्पनीले नाफा कमाउँदा अन्य चार कम्पनीको नाफा घटेको छ ।
कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको वित्तीय विवरण अनुसार नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर र एनएलजी इन्स्योरेन्सको नाफा घटेको हो । अघिल्लो आवको तुलनामा कम्पनीहरुको नाफा क्रमशः ९२.८८ प्रतिशत, १९.०६ प्रतिशत, ५३.३० प्रतिशत र ४.२२ प्रतिशतले घटेको छ ।
असोज मसान्तसम्म आइपुग्दा नोक्सानीमा रहेका कम्पनीहरुमा ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, सगरमाथा लुम्बिनी र युनाइटेड अजोड इन्स्योरेन्स रहेका छन् ।
यस अवधिमा नाफा कमाउनेमा इन्स्योरेन्समा राष्टिय बीमा कम्पनी, प्रभु इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल, सानिमा जिआईसी र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन् ।
यसैगरी यस अवधिमा राष्ट्रिय बीमा कम्पनीको नाफा १३.७४ प्रतिशतले बढेको छ । त्यस्तै प्रभु इन्स्योरेन्सको १०.५४ प्रतिशत, शिखर इन्स्योरेन्स २.०६ प्रतिशत, आईजीआई प्रुडेन्सियलको १९.५० प्रतिशत, सानिमा जिआईसीको ५०.६ प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा २३.७२ प्रतिशतले बढेको हो ।