निजी क्षेत्रको झन्डै १ खर्ब लगानीमा ४४० मेगावाट तिला–१ जलविद्युत आयोजना, वित्तीय व्यवस्थापन एनएमबि बैंककाे नेतृत्वमा लगानी 


काठमाडौं। नेपालको जलविद्युत क्षेत्रमा निजी क्षेत्रको हालसम्मकै ठूलो लगानीमध्ये एक मानिएको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। कालिकोटको तिला कर्णाली क्षेत्रमा निर्माण हुने आयोजनाको वित्तीय व्यवस्थापन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

झन्डै रु. १ खर्ब लगानीमा निर्माण हुने आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न हुनुलाई नेपालको ऊर्जा क्षेत्रमा निजी पूँजी, बैंकिङ क्षेत्रको बढ्दो विश्वास र ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने क्षमताको महत्वपूर्ण विस्तारका रूपमा हेरिएको छ।

केही वर्षअघिसम्म साना जलविद्युत आयोजनामा समेत लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूले जोखिम देखाउने गरेको अवस्थामा अहिले ठूलो क्षमताका जलविद्युत आयोजनामा अर्बौं रुपैयाँ लगानी गर्न वित्तीय क्षेत्र तयार हुनु नेपालको ऊर्जा क्षेत्र क्रमशः संस्थागत र दीर्घकालीन लगानीको गन्तव्य बन्दै गएको संकेत भएको आयोजनाका प्रवर्द्धक पक्षको भनाइ छ।

बैंकिङ क्षेत्रको बढ्दो विश्वास

तिला–१ जस्ता ठूला जलविद्युत आयोजनामा बैंक तथा वित्तीय संस्थाको सहभागिताले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा निजी पूँजी परिचालनको सम्भावना विस्तार भएको देखाएको छ।

अन्तर्राष्ट्रियस्तरमा नवीकरणीय ऊर्जाको माग बढिरहेको अवस्थामा नेपालको जलविद्युत क्षेत्रलाई दीर्घकालीन लगानीको क्षेत्रका रूपमा स्थापित गर्न यस्ता ठूला आयोजनाको वित्तीय व्यवस्थापन महत्वपूर्ण मानिन्छ।

आयोजनाको वित्तीय साझेदारीमा एनएमबी बैंक नेतृत्वदायी बैंक (Lead Bank) का रूपमा सहभागी भएको छ। अन्य बैंक तथा वित्तीय संस्थासमेत आयोजनाको वित्तीय व्यवस्थापनमा जोडिएका छन्।

कर्णालीका लागि विद्युत् मात्र होइन, आर्थिक रूपान्तरणको अवसर

कालिकोटको तिला कर्णाली क्षेत्रमा निर्माण हुने आयोजनालाई विद्युत् उत्पादनको परियोजनाका रूपमा मात्र नभई कर्णालीको आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोडिएको पूर्वाधारका रूपमा हेरिएको छ।

पूर्वाधार विकासका हिसाबले तुलनात्मक रूपमा पछाडि रहेको कर्णालीमा यस्ता ठूला आयोजना निर्माण हुँदा रोजगारी सिर्जना, सडक तथा अन्य पूर्वाधार विकास, स्थानीय व्यवसाय विस्तार, राजस्व वृद्धि र स्थानीय अर्थतन्त्र चलायमान बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

जलविद्युत आयोजनाले स्थानीय स्तरमा प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै निर्माणसँग सम्बन्धित सामग्री, यातायात, आवास, खाद्य तथा सेवा क्षेत्रमा समेत आर्थिक गतिविधि बढाउने सम्भावना हुन्छ।

निजी क्षेत्रको ठूलो ‘हाइड्रो’ सपना

आयोजनालाई अघि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रवर्द्धक टिमलाई बधाई दिँदै निजी क्षेत्रको ठूलो लगानी क्षमताले नेपालको जलविद्युत विकासमा नयाँ सम्भावना देखाएको बताइएको छ।

विशेषगरी ‘हाइड्रो लेडी’का रूपमा परिचित सुसन कर्माचार्य, ऊर्जा क्षेत्रमा सक्रिय जगत पोखरेल, भेषराज गौतम लगायतको प्रवर्द्धक टिमले ठूलो क्षमताको आयोजना अघि बढाउने साहस गरेको भन्दै प्रशंसा गरिएको छ।

ठूला आयोजना निर्माणका लागि निजी क्षेत्रको पूँजीसँगै बैंकिङ क्षेत्रको विश्वास र सरकारको नीतिगत सहजीकरण समान रूपमा आवश्यक हुने देखिएको छ।

अब चुनौती आयोजना समयमै सम्पन्न गर्ने

वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजनाका लागि आवश्यक ठूलो पूँजी जुटाउने महत्वपूर्ण चरण पूरा भएको छ। अब आयोजनालाई निर्धारित लागत र समयभित्र सम्पन्न गर्नु अर्को चुनौती हुनेछ।

ठूला जलविद्युत आयोजना निर्माणमा जग्गा अधिग्रहण, वन तथा वातावरणीय स्वीकृति, प्रसारण लाइन, पहुँचमार्ग, निर्माण सामग्री, स्थानीय सरोकार र सरकारी स्वीकृतिजस्ता विषयले समय तथा लागतमा प्रभाव पार्न सक्छन्।

त्यसैले यस्ता रणनीतिक आयोजनालाई समयमै सम्पन्न गर्न नीतिगत स्थिरता, सरकारी निकायबीच समन्वय, प्रशासनिक सहजीकरण र लगानीमैत्री वातावरण आवश्यक हुनेछ।

४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन सम्पन्न हुनु नेपालको जलविद्युत क्षेत्रमा निजी क्षेत्रको बढ्दो क्षमता र बैंकिङ क्षेत्रको विश्वासको महत्वपूर्ण उदाहरण बनेको छ। आयोजना सफलतापूर्वक निर्माण सम्पन्न हुन सके कर्णालीको ऊर्जा उत्पादनसँगै स्थानीय अर्थतन्त्र र पूर्वाधार विकासमा समेत यसको प्रभाव दीर्घकालीन हुने अपेक्षा गर्न सकिन्छ।