काठमाडौं ।
नेपाल उमा कुङफु संघको पाँचौं साधारण सभाले संजितकुमार राईको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति बुधबार निर्विरोध चयन गरेको छ ।
यसअघि उनी केन्द्रीय कार्यसमितिमा उपाध्यक्ष थिए । संजित संस्थापक सदस्य पनि हुन् ।
संजितले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा २ स्वर्ण र १ कांस्य जितेका छन् । उनले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा १ स्वर्ण र १ कांस्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई संस्करणमा संजितले २ स्वर्ण जितेका छन् ।
भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका संजितले विभिन्न घरेलु प्रतियोगितामा मुख्य निर्णायका रुपमा पनि काम गरेका थिए ।
केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा रमेश महर्जन, सिद्धार्थ लामा तामाङ, मुन्नी सुवेदी तामाङ, राजदिस नेम्कुल, भूपेन्द्र गुरुङ र अनिमेशलाल श्रेष्ठ रहेका छन् । कमल मगरले महासचिव, कृष्णकुमार मगरले सचिव र सूर्य तामाङले कोषाध्यक्षको जिम्मेवारी पाए । गुना गुरुङ, रत्न थापा राणा, रोजी श्रेष्ठ, शेरबहादुर गुरुङ र सुजन कक्षपति सदस्यमा चयन भए ।
साधारण सभामा नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स संघका अध्यक्ष सुदिप पण्डित क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।