डेंगी रोग एडीस जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । एडीस जातका लामखुट्टेले प्रायः गरेर दिनमा टोक्दछन् । विशेष गरी साँझ र बिहान यो लामखुट्टे बढी सक्रिय हुने हुनाले सो समयमा बढी होशियार हुनुपर्छ ।
डेंगी रोग सार्ने लामखुट्टे वृद्धि विकास हुने स्थानहरु:
एडीस लामखुट्टेले सफा जमेको थोरै पानीमा पनि फुल पार्दछ । प्रायः पानी जम्ने प्लास्टिकका बोत्तल, टायर, ड्रम, बाटा, बाल्टिन, फूलदानी, गमला, कुलर, प्लास्टिकका खोल, सिसी, पानीका ट्यांकी , टिनका डब्बाहरु ,अन्डाको बोक्रा, जस्ता पानी जम्ने भाँडा तथा छाना, कौसी, बरन्डा, ढल, नाली, आदि स्थानहरुमा फुल पार्छ र यो लामखुट्टेको वृद्धि विकास हुन्छ ।
यस रोगका लक्षणहरुः
• एक्कासि उच्च ज्वरो आउने
• टाउको, आँखाको गेडी, मांसपेशी तथा जोर्नी दुख्ने
• वाकवाकी लाग्ने वा बान्ता हुने
• थकान महसुस हुने
• आफ्नो दैनिकी जस्तै खानपान वा अन्य कामकुरामा रूचि नलाग्ने
डेंगी ज्वरोको उपचार
• डेंगीको जटिल लक्षणहरु देखिएमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा लैजानु पर्दछ । डेंगी रोग भएका बालबालिका, वृद्धवृद्धा, दीर्घ रोगी, गर्भवती तथा सुत्केरीहरुलाई विशेष ध्यान दिनुपर्छ ।
• पानी तथा झोलिलो, पोषिलो खाने कुरा प्रशस्त मात्रामा खानेगर्नुपर्छ ।
• उच्च ज्वरो कम गर्न पारासिटामोल खाने तर दुखाई कम गर्ने अन्य औषधीहरु नखाने ।
• आराम गर्ने ।
डेंगी रोगबाट बच्ने उपायहरु
डेंगी ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्दछ।
यसको लागि
• बिहान, दिउँसो, राति जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने ।
• पूरा बाहुला भएको पुरा शरीर ढाक्ने लुगा लगाउने ।
• लामखुट्टे धपाउने विधिहरु अपनाउनेः जस्तैः मच्छड ९लामखुट्टे० धुप बाल्ने, लामखुट्टे भगाउने मलम लगाउने, लिक्विड बाल्ने ।
• घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने ।
डेंगी रोगबाट बच्न लामखुट्टेको वृद्धि विकास नियन्त्रण गर्नुपर्छ ।
यसको लागि
• आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानहरुमा पानी जम्न नदिई सफा राख्नुपर्छ ।
• पानी जमिहालेको खण्डमा हप्तामा २ पटक जमेको पानी फाल्नुपर्छ ।
• दैनिक प्रयोजनको लागि राखेको पानी लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ ।
• कुलरमा रहेको पानी हप्तामा २ पटक सफा गर्नुपर्छ ।
• गमला वा गमला राखेको प्लेटमा जमेको पानी हप्तामा २ पटक फालेर प्लेट सफा राख्ने, त्यस्तै भाँडाकुँडामा पानी जम्न नदिन घोप्ट्याएर राख्नुपर्छ ।
• घर वरपर रहेका पानी जम्ने खाल्डाखुल्डीलाई पुरिदिने गर्नुपर्छ।
• टायर ,काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, प्लास्टिकका सामाग्री, आदिमा पानी जम्न नदिने गरी विसर्जन गर्नुपर्छ ।
• लामखुट्टेको बृद्धि विकास हुने स्थान नष्ट गर्नुपर्छ।
लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी रोगबाट बच्ने मुख्य उपाय हो ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सन्चार केन्द्र