काठमाडौं। नेपालको कृषि तथा खाद्य प्रणालीलाई जलवायु परिवर्तनका चुनौतीसँग जुध्न सक्षम बनाउने उद्देश्यले नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) र चीन सरकारबीच नयाँ सहकार्य सुरु भएको छ। ‘Strengthening Agrifood Systems in Nepal’ नामक २४ महिनाको परियोजना आइतबार औपचारिक रूपमा शुभारम्भ गरिएको हो।
चीन सरकारको Global Development and South-South Cooperation Fund को आर्थिक सहयोगमा सञ्चालन हुने परियोजनाले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रका किसानको उत्पादन प्रणालीलाई आधुनिक, दिगो र जलवायु–उत्थानशील बनाउने लक्ष्य लिएको छ। यसमार्फत कृषि उत्पादन वृद्धि, ग्रामीण जीविकोपार्जन सुधार तथा खाद्य र पोषण सुरक्षामा योगदान पुग्ने अपेक्षा गरिएको छ।
काभ्रे र इलामबाट सुरु हुनेछ कार्यान्वयन
परियोजनाको पहिलो चरण काभ्रेपलाञ्चोक र इलाम जिल्लामा कार्यान्वयन हुनेछ। यी जिल्लामा डिजिटल कृषि सेवा विस्तार गर्दै किसानलाई आधुनिक प्रविधिमा आधारित प्राविधिक परामर्श, मौसम पूर्वानुमान, कृषि बीमा, वित्तीय पहुँच तथा बजारसम्बन्धी जानकारी उपलब्ध गराइनेछ।
यसका साथै स्थानीय तह र कृषि संस्थाको क्षमता अभिवृद्धि, महिला तथा युवाको नेतृत्व विकास, सीमान्तकृत समुदायको सहभागिता वृद्धि र जलवायु अनुकूलन क्षमता विस्तारलाई परियोजनाको मुख्य प्राथमिकतामा राखिएको छ।
दिगो कृषि रूपान्तरणमा जोड
परियोजना उद्घाटन कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालको खाद्य सुरक्षा, ग्रामीण समृद्धि तथा दिगो विकासका लक्ष्य प्राप्तिमा परियोजनाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्। उनले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको जोखिमलाई सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य बन्दै गएको उल्लेख गरिन्।