प्राकृतिक कृषि उपजको बजारीकरणका लागि काठमाडौंमा ‘किसानको पोको’ प्रदर्शनी आयोजना हुँदै


काठमाडौं : ग्रामीण क्षेत्रका प्राकृतिक तथा सुरक्षित कृषि उत्पादनको बजारीकरण प्रवर्द्धन गर्दै उपभोक्तालाई गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने उद्देश्यले काठमाडौंमा ‘किसानको पोको’ प्रदर्शनी तथा बिक्री–वितरण कार्यक्रम आयोजना हुने भएको छ।

फार्मर्स फर रुरल डेभलपमेन्ट (FRDEV) ले नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड (NACCFL) सँगको समन्वयमा सञ्चालन गरिरहेको “Towards More Sustainable Food Value Chains in Nepal (SFVC)” परियोजनाअन्तर्गत उत्पादित कृषि उपजको प्रदर्शनी तथा बिक्री–वितरण कार्यक्रम गर्न लागेको हो।

आयोजकका अनुसार प्रदर्शनीमा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, धादिङ, मकवानपुर, ललितपुर, नुवाकोट र दोलखाका साना किसान कृषि सहकारी संस्थामार्फत उत्पादन गरिएका प्राकृतिक तथा सुरक्षित कृषि उपज प्रदर्शन गरिनेछ।

प्रदर्शनीमा गौरीशंकर साना किसान कृषि सहकारी संस्था (धुलिखेल), चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्था (काभ्रेपलाञ्चोक), मनसुना साना किसान कृषि सहकारी संस्था (रामेछाप), मानवक महिला साना किसान कृषि सहकारी संस्था (सिन्धुपाल्चोक), उज्यालो किरण साना किसान कृषि सहकारी संस्था (ललितपुर), बज्रबाराही साना किसान कृषि सहकारी संस्था (मकवानपुर), सूर्यमुखी साना किसान कृषि सहकारी संस्था (सिन्धुपाल्चोक), दुईपिपल साना किसान कृषि सहकारी संस्था (नुवाकोट) तथा जिरी साना किसान कृषि सहकारी संस्था (दोलखा) का किसानद्वारा उत्पादित वस्तुहरू राखिने जनाइएको छ।

यसका साथै नेपाल कृषि सहकारी केन्द्रीय संघ (NACCFL) को सञ्जालमा आबद्ध सदस्य संस्थाहरूले उत्पादन गरेका कृषि सामग्रीसमेत ‘किसानको पोको’ मार्फत प्रदर्शनी तथा बिक्री–वितरण गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार यस कार्यक्रमले प्राकृतिक कृषि उत्पादनको बजार विस्तार, किसानको आम्दानी वृद्धि, उपभोक्तालाई सुरक्षित खाद्य सामग्री उपलब्ध गराउने तथा दिगो कृषि मूल्य शृंखला विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।