चितवन, चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा महिलाहरुको निःशुल्क क्यान्सर परीक्षण शुरु गरिएको छ।
आज २१ गते देखि तीन दिनसम्म सञ्चालित क्यान्सर परीक्षण अभियानमा महिलालाई निःशुल्क सेवा दिन लागिएको हो।
अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालका अनुसार अक्टोबर महिना क्यान्सर सचेतना महिना भएकाले सोही अवसर पारेर ३५ वर्ष माथिका महिलाको निःशुल्क परीक्षण शुरु गरिएको हो । महिला पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य सेवामा कार्यरत महिला कर्मचारीलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरिएको डा. लम्सालले बताउनुभयो।
‘रक्त परिक्ष्ाँणहरु मध्ये एच बि, ब्लड सुगर’, ‘क्रिएटिनिन’ र ‘एसजिपिटी’ परीक्षण निःशुल्क गरिएको निर्देशक डा. लम्सालले बताउनुभयो । साथै पाठेघरको मुखको ‘भिआइए’ परीक्षण गरिने भन्दै उहाँले परीक्षणका क्रममा ‘भिआइए पोजेटिभ’ आएकाहरुका लागि सर्भाइकल बायोप्सी (क्यान्सर भए वा नभएको बारे गरिने परीक्षण) निःशुल्क गरिएको उहाँले जानकारी दिनुभयो।
स्तन क्यान्सरको परीक्षण भने आवश्यकता अनुसार स्तनको भिडियो एक्सरे निःशुल्क गरिने प्रा.डा. लम्सालले बताउनुभयो।
लक्षित समूह अन्तर्गत भरतपुर महानगरपालिकाका स्वास्थ्य स्वयंसेविका, महानगरको मातहतका सम्पूर्ण स्वास्थ्य शाखाका महिला कर्मचारी र महिला पत्रकारहरुको आज परीक्षण गरिँदैछ।
यसैगरी मङ्गलबार रत्ननगर नगरपालिका र देवघाट गाउँपालिकाका स्वास्थ्य स्वयंसेविका र मातहतका सम्पूर्ण स्वास्थ्य शाखाका महिला कर्मचारीहरुको परीक्षण गरिने भएको छ।
बुधबार देवचुली र गैँडाकोट नगरपालिकाका स्वास्थ्य स्वयंसेविका र मातहतका स्वास्थ्य शाखाका महिला कर्मचारीको निःशुल्क परीक्षण गरिने अस्पतालले जनाएको छ । सबै परीक्षणहरु सिएमसी क्यान्सर इन्स्टिच्युटमार्फत गरिनेछ।
चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटमा क्यान्सरको उपचार गर्न आउनेहरुले स्वास्थ्य बीमा मार्फत् रु एक लाखसम्म, विपन्न उपचार कोषबाट रु एक लाखसम्मको सुविधा पाउँछन् भने प्रदेश सरकारबाट अधिकतम थप रु दुई लाखसम्म पाउँछन्।
सामाजिक सुरक्षा कोषमार्फत् उपचार गर्नेहरुले ८० प्रतिशत छुट पाउँछन् । सरकारी अस्पतालको दररेटमा नै क्यान्सरको उपचार गर्दै आएको अस्पतालले जनाएको छ।
अत्याधुनिक उपकरण, दक्ष र अनुभवी विशेषज्ञ चिकित्सकबाट सेवा दिँदै आएको अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले बताउनुभयो।
अस्पतालमा क्यान्सरसँगै मुटुसम्बन्धी सबै किसिमका रोगको उपचार हुँदै आएको देवकोटाले जानकारी दिनुभयो।