नेपालको कृषि आज पनि रासायनिक मलमा अत्यधिक निर्भर छ। तर मलको आयात, आपूर्तिमा हुने अनिश्चितता र बढ्दो लागतले कृषकलाई हरेक वर्ष समस्यामा पारिरहेको छ। यस्तो अवस्थामा माटोको उर्वराशक्ति जोगाउने, रासायनिक मलको प्रयोग घटाउने र दिगो कृषि प्रणालीलाई सुदृढ बनाउने प्राकृतिक विकल्पको खोजी अपरिहार्य बनेको छ। यही सन्दर्भमा हरियो मल बालीढैंचार यसको नयाँ जात ‘खजुरा ढैंचा १’ विशेष महत्वका साथ अघि आएको छ।
ढैंचा छिटो बढ्ने दलहनी बाली हो। यसको जरामा बन्ने गाँठाहरूले हावामा रहेको नाइट्रोजन संकलन गरी माटोमा उपलब्ध गराउँछन्। त्यसैले यसलाई विशेषगरी धानमा आधारित खेती प्रणालीका लागि उत्कृष्ट हरियो मलका रूपमा लिइन्छ। हरियो मल भन्नाले छिटो बढ्ने बालीलाई फूल लाग्ने वा वानस्पतिक अवस्थामै माटोमा जोतेर गाड्ने प्रक्रिया हो। पछि यही हरियो जैविक पदार्थ कुहिएर प्राङ्गारिक मलमा परिणत हुन्छ र माटोलाई थप उर्वर बनाउँदछ।
ढैंचाको प्रयोगबाट माटोमा जैविक पदार्थको मात्रा बढ्छ, माटोको संरचना सुधार हुन्छ, पानी धारण गर्ने क्षमता वृद्धि हुन्छ र नाइट्रोजनको उपलब्धता बढ्छ। यसले रासायनिक मलको आवश्यकता घटाउनुका साथै झारपात तथा केही रोग–कीरा नियन्त्रणमा समेत सहयोग पुर्याआउँछ। माटोका सूक्ष्मजीवहरूको संरक्षण हुनुका साथै हावाहुरीबाट हुने मसिनोमाटोकोक्षय पनि कम हुन्छ। ढैंचा प्रयोग गरेका धेरै कृषकले माटो पहिलेभन्दा नरम, उर्वर र उत्पादनशील बनेको अनुभव साझा गरेका छन्। अनुसन्धानहरूले समेत यसको प्रयोगबाट धान उत्पादनमा ६–१५ प्रतिशतसम्म वृद्धि तथा धान–गहुँ प्रणालीको उत्पादनमा उल्लेखनीय सुधार देखाएका छन्। केही अध्ययनले त धानमा प्रयोग हुने रासायनिक मलको मात्रा आधाभन्दा बढी घटाउन सकिने निष्कर्ष पनि प्रस्तुत गरेका छन्।
दक्षिण एशिया, अफ्रिका र अष्ट्रेलियालाई ढैंचाको उत्पत्तिस्थल मानिन्छ। नेपालमा भनेहरियो मलका रूपमा ढैंचाको प्रयोग सन् १९६४ देखि सुरु भएको मानिन्छ। नेपालमा यसको खेती तराई, भित्री मधेशदेखि मध्य पहाडसम्म सफलतापूर्वक गर्न सकिन्छ। विशेषगरी धानमा आधारित खेती प्रणालीका लागि यो अत्यन्त उपयुक्त बाली हो भने बीउ उत्पादनका लागि तराईदेखि मध्य पहाडी क्षेत्रका नदी किनारका भूभाग उपयुक्त मानिन्छन्।
हाल दर्ताको प्रक्रियामा रहेको ‘खजुरा ढैंचा १’ (Sesbaniabispinosa) एकवर्षे, छिटो बढ्ने तथा झाडीदार जात हो।यसको बोट सीधा हुने र फूल लाग्ने अवस्थामा औसत ४.७ मिटरअग्लो हुन्छ। यसमा औसत प्रतिबोट ३६वटा हाँगाहरू हुन्छन्।
यी हाँगाहरू वानस्पतिकअवस्थामा हरियो र भित्री भाग खोक्रो हुन्छ, न्भ ने परिपक्व भएपछि हल्का खैरोरङमा परिणत हुन्छन्। यसका पात संयुक्त तथा पिच्छाकार हुन्छन्, जसमा साना–सानापत्रहरू बीचको डाँठका दुवै किनारामा समानरूपमा व्यवस्थित रहेका हुन्छन्।यसको जरामा औसत १७३ वटा नाइट्रोजन स्थिरीकरण गर्ने गाँठाहरू विकास हुन्छन्, जसले वायुमण्डलमा रहेको नाइट्रोजनलाई माटोमा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्दछन्।
‘खजुरा ढैंचा १’ ले अत्यधिक हरियो जैविक पदार्थ उत्पादन गर्छ। वानस्पतिक अवस्थामा प्रति रोपनी करिब १,६५० किलोग्रामसम्म हरियो जैविक पदार्थ उत्पादन गर्न सक्छ। यसको सुख्खा जैविक पदार्थमा औसत २.८ प्रतिशत नाइट्रोजन, ०.८ प्रतिशत फस्फोरस र १.१ प्रतिशत पोटास पाइन्छ। यसबाट प्रतिहेक्टर करिब १३३ किलोग्राम नाइट्रोजन माटोमा थप्न सकिन्छ, जुन करिब २९० किलोग्राम युरिया मल बराबर हो।
यो जातमा पहेँलो रङका (Raceme) प्रकारका फूल लाग्छन् र स्वपरागसेचन हुने बाली हो। सामान्यतया ५५ दिनमा फूल लाग्न सुरु गर्छ भने करिब १२० दिनमा परिपक्व हुन्छ। एउटा बोटमा औसत ४०० वटा फूल र १५० वटा कोसा लाग्दछन्। प्रत्येक कोसामा औसत २७ वटा बीउहरु हुन्छन्। बीउ साना, कडा, चिल्ला र अण्डाकार हुन्छन् भने बाहिरी आवरण कालो वा गाढा खैरो रङको हुन्छ। एक हजार दानाको तौल करिब २० ग्राम हुन्छ। उपयुक्त व्यवस्थापन अपनाउँदा प्रति रोपनी औसत २,३०० किलोग्रामसम्म बीउ उत्पादन गर्न सकिने भएकाले गुणस्तरीय बीउ उत्पादनका लागि पनि यो जात सम्भावनायुक्त मानिन्छ।
ढैंचाको खेती व्यवस्थापन पनि सरल छ। यसलाई सबै प्रकारका माटोमा खेती गर्न सकिन्छ र ५.० देखि ८.५ सम्मको उज् भएको माटो उपयुक्त मानिन्छ। कम उर्वराशक्ति भएका जमिनमा पनि यसको वृद्धि राम्रो हुन्छ। हरियो मलका लागि माघपछि जुनसुकै समयमा छर्न सकिन्छ, तर धान रोप्नुभन्दा करिब दुई महिना अगाडि छरेर ४५–५५ दिनमा फूल लाग्न थालेपछि माटोमा मिलाउनु सबैभन्दा उपयुक्त हुन्छ। बीउ उत्पादनका लागि भने असार–साउनमा रोप्दा राम्रो परिणाम प्राप्त हुन्छ।
हरियो मलका लागि प्रतिहेक्टर ४०–४५ किलोग्राम र बीउ उत्पादनका लागि २०–२५ किलोग्राम बीउ पर्याप्त हुन्छ। लाइनमा रोप्दा २५–३० सेन्टिमिटरको दूरी कायम गर्नुपर्छ। बीउलाई राइजोबियमले उपचार गर्दा जरामा गाँठा बन्ने क्षमता अझ बढ्दछ। सामान्यतया यसमा मल हाल्नुपर्दैन, किनभने यसले आफैं नाइट्रोजन स्थिरीकरण गर्छ। कमजोर माटोमा भने प्रतिरोपनी २–५ किलोग्राम डीएपी प्रयोग गर्न सकिन्छ। वर्षायाममा आधारित खेती भएकाले सामान्य अवस्थामा सिँचाइ आवश्यक पर्दैन तरपनिलामो खडेरी परेमा एक–दुई पटक सिँचाइ गरे पुग्दछ।
रोग–कीराको दृष्टिले पनि ढैंचा सहनशील बाली हो। कहिलेकाहीँ पात खाने लार्भा देखिए पनि यसबाटआर्थिक रूपमा उल्लेखनीय क्षति हुँदैन। यसको छिटो वृद्धि र बाक्लो छायाँका कारण झारपात स्वतः नियन्त्रणमा आउँछन्। आवश्यक परे रोपेको २०–२५ दिनपछि एक पटक गोडमेल गर्न सकिन्छ।
हरियो मलका रूपमा प्रयोग गर्दा ४५–५५ दिनपछि वा फूल लाग्ने अवस्थामा माटोमा जोतेर गाड्नु पर्दछ। बीउ उत्पादनका लागि भने असोज–कात्तिकमा करिब ८० प्रतिशत कोसा पाकेपछि बाली काट्नुपर्दछ।
नेपालमा रासायनिक मल उत्पादन गर्ने उद्योग नहुँदा मल विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ। यसले समयमै रआवश्यकमात्रामामल उपलब्ध हुने सुनिश्चितता कमजोर बनाएको छ। कृषि मन्त्रालयको वार्षिक बजेटको ठूलो हिस्सा रासायनिक मल खरिदमै खर्च हुने अवस्था छ। यस्तो परिस्थितिमा माटोको उर्वराशक्ति जोगाउने, रासायनिक मलमा निर्भरता घटाउने, वातावरण संरक्षण गर्ने र उत्पादन लागत कम गर्ने उपायका रूपमा ढैंचाको महत्व अझ बढेको छ।
त्यसैले अहिलेको आवश्यकता भनेको हरियो मलको प्रयोगलाई अभियानकै रूपमा विस्तार गर्नु हो। दर्ताको अन्तिम चरणमा रहेको‘खजुरा ढैंचा १’यस दिशामा महत्वपूर्ण उपलब्धि बन्न सक्छ। यसको प्रभावकारी विस्तारले माटोको स्वास्थ्य सुधार, उत्पादन लागत न्यूनीकरण, रासायनिक मलमा निर्भरता कमी तथा दिगो कृषि प्रणाली निर्माणमा महत्वपूर्ण योगदान पुर्याीउने विश्वास गर्न सकिन्छ।
कृषकले एकपटक ढैंचा प्रयोग गरेर हेर्ने हो भने यसको प्रत्यक्ष लाभ अनुभव गर्न सक्नेछन्। माटो राम्रो हुन्छ, रासायनिक मलको आवश्यकता घट्छ, उत्पादन लागत कम हुन्छ र अन्ततः उत्पादन पनि बढ्छ। यही नै दिगो, आत्मनिर्भर र वातावरणमैत्री नेपाली कृषितर्फको व्यावहारिक कदम हो।
डा. अनिल पोखरेल (PhD)
संयोजक तथा वरिष्ठ वैज्ञानिक (एस–३, कृषि विज्ञान/एग्रोनोमी)
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दलहन बाली अनुसन्धान कार्यक्रम (जीएलआरपी)
खजुरा, बाँके, लुम्बिनी प्रदेश, नेपाल