काठमाडौं- संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु छन्।
उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते त्यसतर्फ प्रस्थान गरेका हुन्।
सोही क्रममा शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ। सो अवसरमा प्रधानमन्त्री ओलीले केही समयअघि नेपाल भ्रमण गरेकामा महासचिव गुटेरेसप्रति कृतज्ञता व्यक्त गर्दै नेपालले जलवायु न्याय पाउनुपर्ने र यसमा पहलका लागि आग्रह गरेका थिए।
त्यस्तै महासचिव गुटेरेसले नेपालमा हिमालहरू पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
त्यसअघि प्रधानमन्त्री ओलीसँग राष्ट्रसंघको अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख र साना टापु मुलुकका लागि प्रतिनिधिसमेत रहेका उपमहासचिव रबाब फतिमाले नेपाली नियोगको कार्यालयमा भेट गरेका थिए,
त्यसअघि प्रधानमन्त्री ओलीसँग राष्ट्रसंघको अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख र साना टापु मुलुकका लागि प्रतिनिधिसमेत रहेका उपमहासचिव रबाब फतिमाले नेपाली नियोगको कार्यालयमा भेट गरेका थिए।
आजै ‘द समिट अफ द फ्युचर’को एक सत्रमा प्रधानमन्त्री ओलीले सहअध्यक्षता गर्नुका साथै प्लेनरी सत्रमा सम्बोधन गर्ने तालिका छ। प्रधानमन्त्री ओलीसँग आजै संयुक्त राष्ट्रसंघको मानव अधिकार आयुक्तले पनि शिष्टाचार भेट गर्दैछन्।
यसैगरी भुटानका प्रधानमन्त्री डाशो छिरिङ तोग्बेसँग द्विपक्षीय बैठक हुने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसपछि प्रधानमन्त्री ओली र कुवेतका युवराज शेख सबाह अल-खालेद अल-हमद अल-मुबारक अल-सबाहसँग द्विपक्षीय बैठक हुनेछ।
भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने
आजै प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने तालिका छ। उनीहरुको भेटलाई महत्वका साथ हेरिएको छ।
गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो। उक्त भेटमा नेपाल-भारत सम्बन्धका विविध विषयमा छलफल हुने बताइएको छ।
आइतबार नै प्रधानमन्त्री ओलीले नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् र सोही अवसरमा आयोजित रात्रिभोजमा सरिक हुने तालिका छ।
भोलि सोमबार प्रधानमन्त्री ओलीले युनिसेफ भवनमा हुने ‘लिड-फ्रि फयुचर, पाटर्नरसिप लञ्च’कार्यक्रमलाई सम्बोधन गर्नेछन्। सोही दिन उनले कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’को कार्यक्रममा मुख्यवक्ताका रुपमा सम्बोधन गर्नुका साथै नेपाली विद्यार्थीसँग अन्तरक्रिया गर्नेछन्।