“छोरीको पीडाबाट जन्मियो मानवीय संकल्प, रामप्रसाद कोइरालाले आफ्नै घर बेचेर किओज बाल अस्पताललाई दिए १ करोड ५० लाख”
काठमाडौं। अधिकांश मानिस जीवनभर मेहनत गरेर एउटा घर बनाउँछन्, त्यसलाई सन्तानका लागि सम्पत्ति बनाएर छोड्न चाहन्छन्। तर पाल्पाका रामप्रसाद कोइरालाले भने आफ्नै पसिनाले बनाएको घर बेचेर त्यसको सम्पूर्ण रकम बालबालिकाको उपचारमा समर्पण गरेका छन्। यस्तो निर्णय केवल दान होइन, एउटा बुबाको पीडाबाट जन्मिएको मानवीय यात्राको चरम अभिव्यक्ति हो।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओज) का अध्यक्ष प्रा.डा. भगवान् कोइरालालाई १ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै अस्पतालमा आँखा, नाक तथा कान (ईएनटी) सेवा विस्तारका लागि योगदान दिएका हुन्।
यो रकम कुनै व्यापारिक नाफा वा अतिरिक्त सम्पत्तिबाट आएको होइन। उनले काठमाडौंस्थित आफ्नै घर बेचेर संकलन गरेको रकम समाजलाई फिर्ता दिएका हुन्।
छोरीको श्रवणशक्ति गुमेपछि बदलियो जीवनको बाटो
रामप्रसाद कोइरालाको जीवनको मोड आफ्नी जेठी छोरी अपर्णाको श्रवणशक्ति गुमेपछि फेरिएको थियो। त्यसबेला नेपालमा उपचारको पर्याप्त सुविधा थिएन। चिकित्सकहरूले भारतको एम्स वा थाइल्यान्डको माहिडोल विश्वविद्यालयमा उपचार गराउन सुझाव दिएका थिए।
यही परिस्थितिमा उनले सन् १९८२ मा संयुक्त राष्ट्रसंघको स्वयंसेवकका रूपमा लाओस जाने निर्णय गरे। इन्जिनियर भएर पनि सुरक्षित करियर छाडेर स्वयंसेवक बन्ने निर्णयलाई धेरैले आश्चर्य मानेका थिए।
“सबैले रोक्न खोजे, तर मेरो एउटै उद्देश्य थियो—छोरीको उपचार सम्भव होस्,” कोइरालाले सम्झिए।
बैंककमा उपचार गरिए पनि अपर्णाको श्रवणशक्ति पूर्ण रूपमा फर्किएन। तर यही घटनाले कोइरालाको जीवनको दिशा परिवर्तन गरिदियो। पछि उनी युनिसेफमार्फत भियतनाम, सुडानलगायत विभिन्न मुलुकमा बालबालिकाको स्वास्थ्य, शिक्षा र संरक्षणका परियोजनामा संलग्न भए। त्यही अनुभवले उनलाई मानव सेवाप्रति अझ समर्पित बनायो।
“युनिसेफ मेरो लागि हजुरआमाजस्तै संस्था थियो,” उनी भन्छन्, “जहाँ पुगे पनि बालबालिकाको भविष्य नै पहिलो प्राथमिकता थियो।”
आमा र हजुरआमाको सम्झनामा पुस्तक, पुस्तकसँगै दान
सेवानिवृत्त भएपछि उनले आफ्नो जीवनअनुभव र बाल्यकालका स्मृतिलाई समेटेर ‘मेरी उनी र म’ पुस्तक लेखे। सानैमा आमाको माया गुमाएर हजुरआमाको काखमा हुर्किएका कोइरालाले पुस्तकमार्फत मातृवियोग, वात्सल्य र सम्झनालाई शब्द दिएका छन्।
तर उनको मन केवल पुस्तक लेखेर शान्त भएन।
“आमाप्रतिको प्रेमलाई शब्दमा मात्र होइन, कर्ममा कसरी उतार्ने?” भन्ने प्रश्नले उनलाई लामो समय घोचिरह्यो। अन्ततः आफ्नै घर बेचेर त्यसको रकम बालबालिकाको उपचारमा लगाउने निर्णय गरे।
उनका अनुसार यो दान आफ्नी आमा र हजुरआमाप्रतिको प्रेमको सबैभन्दा ठूलो सम्मान हो।
पहिले पनि गरिसकेका थिए सहयोग
रामप्रसाद कोइरालाले यसअघि दमक अस्पताललाई कान उपचारका उपकरण खरिदका लागि १० लाख रुपैयाँ तथा हेपाली हाइट अस्पताललाई पनि १० लाख रुपैयाँ सहयोग गरिसकेका छन्। तर यसपटकको योगदान उनको जीवनकै सबैभन्दा ठूलो सामाजिक समर्पण बनेको छ।
‘कठिन समयमा ठूलो सहारा’
किओज बाल अस्पतालका अध्यक्ष प्रा.डा. भगवान् कोइरालाले अस्पताल अहिले आर्थिक चुनौतीबीच सेवा विस्तार गरिरहेको अवस्थामा यस्तो सहयोग अत्यन्त महत्वपूर्ण भएको बताए।
उनका अनुसार हजारौं नेपालीको सानोसानो सहयोगबाट अस्पतालको भवन निर्माण सम्पन्न भइसकेको छ। अब अत्याधुनिक उपकरण, विशेषज्ञ सेवा र सञ्चालन खर्चका लागि थप सहयोग आवश्यक छ।
“राम अंकलले आफ्नो निजी सम्पत्ति त्यागेर नेपाली बालबालिकाको भविष्यमा लगानी गर्नुभएको छ। यस्तो सहयोग दुर्लभ उदाहरण हो,” उनले भने।
अस्पतालले रामप्रसाद कोइरालालाई ‘प्लाटिनम पार्टनर अफ किओज’ सम्मान प्रदान गर्दै उनको योगदानको कदर गरेको छ।
‘मेरी उनी र म’को दोस्रो संस्करण सार्वजनिक
सोही कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले ‘मेरी उनी र म’ पुस्तकको परिमार्जित दोस्रो संस्करण सार्वजनिक गरे।
रेग्मीले पुस्तकमा लेखकको मातृभक्ति, संवेदना र जीवनभोगाइ जीवन्त रूपमा प्रस्तुत भएको बताए। उनले पुस्तक मात्र नभई बाल अस्पताललाई गरिएको ठूलो सहयोग पनि समाजका लागि प्रेरणादायी उदाहरण भएको उल्लेख गरे।
प्रा.डा. भगवान् कोइरालाले पुस्तकलाई मातृप्रेम, पश्चात्ताप र नेपाली समाजमा महिलाले भोगेका संघर्षको मार्मिक दस्तावेजको संज्ञा दिए।
कार्यक्रममा पुस्तकमा आधारित नाटकसमेत मञ्चन गरिएको थियो। मातृवियोग र पुनर्मिलनको कथाले दर्शकहरूलाई भावुक बनाएको थियो।
इँटाको घरभन्दा ठूलो बन्यो मानवताको घर
रामप्रसाद कोइरालाले बेचेको घर अब उनका लागि केवल एउटा भवन रहेन। त्यो हजारौं बालबालिकाको उपचार, आशा र भविष्यमा रूपान्तरण भएको छ।
आजको स्वार्थप्रधान समाजमा उनले देखाएको उदाहरणले एउटा सन्देश दिएको छ—सम्पत्ति जोगाएर मात्र होइन, सही ठाउँमा समर्पण गरेर पनि मानिस अमर बन्न सक्छ। उनका लागि घरको मूल्य इँटा र सिमेन्टमा थिएन; त्यो मूल्य अब हजारौं बालबालिकाको मुस्कानमा जीवित रहनेछ।

