ईकोनोमिक खबर, काठमाडौं।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीले आफन्तहरुलाई भर्नामा लोकसेवा आयोगका परिक्षालिने कार्य विपरीतका क्रियाकलाप गरेर उत्तीर्ण गराएको भनि विभिन्न विद्यार्थी संगठनको आरोप सत्य सावित भएको छ । अख्तियार स्रोतका अनुसार प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशन सम्ममा उनीहरूले लोकसेवा आयोगका पदाधिकारीलाई संलग्न नगराई अस्वाभाविक चलखेल गरेका हुन् ।
सेवा आयोगका पदाधिकारीहरूले प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका कोडिङ, परीक्षण र नतिजा प्रकाशनका क्रममा लोकसेवा आयोगका पदाधिकारीलाई संलग्न गराएनन् । त्रिवि सेवा आयोगमा लोकसेवा आयोगका सदस्य पदेन सदस्य रहने व्यवस्था छ । हाल ब्रह्मदेव राय प्रतिनिधिका रूपमा छन् । उनलाई नै ‘बाइपास’ गरी परीक्षा सञ्चालन गरेको भेटिएको हो ।
आन्दोलनरत विद्यार्थी संगठनका भनाईमा त्रिवि आयोगका पदाधिकारसँग आचारसंहिता उल्लंघन हुने गरीे प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका कोडिङ, परीक्षण र नतिजा प्रकाशनका क्रममा अस्वाभाविक क्रियाकलाप गर्दै आएको जनाए ।
आयोगले विज्ञापन नं. १८।२०७३।०७४ को विभिन्न १६ पद समूहका लागि ठूलो संख्यामा कर्मचारी नियुक्ति गर्न गत वैशाख १४ मा खुलातर्फको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको थियो । जसमा उपप्रशासक, आर्थिक नियन्त्रक, शाखा अधिकृत, लेखा अधिकृत, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत, मुख्य कार्यालय सहायक, कार्यालय सहायक पदमा विज्ञापन निकालिएको थियो।
लोकसेवाका प्रतिनिधि बिना त्रिवि आयोगका अध्यक्ष सहित पदाधिकारीहरुले मनोमानी गरेर परीक्षा सञ्चालन गरे । अख्तियारले परीक्षा पद्धतिमाथि छानबिन थालेपछि सेवा आयोगले शाखा अधिकृतको अन्तर्वार्ता गर्न सकेको छैन । त्रिवि सेवा आयोगका पदाधिकारी, पहुँचवाला प्राध्यापक, कर्मचारी र क्याम्पस प्रमुखका आफन्त पास भएसँगै परीक्षाको विश्वसनीयतामा प्रश्न उठेको थियो ।