प्रदीप खड्का र अभिलाषा विष्टले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको उपाधि सोमबार जितेका छन्। मुख्य स्पर्धा पुरुष सिंगल्समा प्रदीप र महिला सिंगल्समा अभिलाषा पहिलो भएका हुन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई ६–० र ६–३ ले सहजै पराजित गरे । महिलाको उपाधि भिडन्तमा अभिलाषाले सुनिरा विष्टलाई ६–१ र ६–१ को सोझो सजिलै हराइन्।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार पहिलो भए। उनले फाइनलमा सन्तोष खत्रीलाई सीधा सेटमा ६–२ र ६–१ ले पाखा लगाए।
हिमाल मिडियाद्वारा आयोजित प्रतियोगितामा जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष सिंगल्स स्पर्धामा दोहोरो स्वर्ण जितेका कमल थापा ५५ वर्षमाथि र ६५ वर्षमाथि च्याम्पियन बने । चन्द्र शाहीले पनि पुरुष डबल्समा २ स्वर्ण जिते । उनले ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ तथा ५५ वर्षमाथि उत्तम शेर्पासंग मिलेर स्वर्ण हात पारे। ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी पहिलो भए।
त्यस्तै ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र परियार र इलम दीक्षित, ६५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र ध्रुव गुरुङ तथा पुरुष डबल्समा प्रणव मानन्धर र राजवीर प्रधानको जोडी पहिलो भए।
विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, हिमाल मिडियाका संस्थापक कुन्दमणि दीक्षितलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । समावेश सबै स्पर्धामा शीर्ष तीन स्थान हातपार्नेले नगद पुरस्कार पाए ।
कुल पुरस्कार राशी ५ लाख ७६ हजार रहेको थियो । शनिबार सम्पन्न हुनु पर्ने प्रतियोगिता अविरल वर्षाका कारण दुईदिन लम्बिएको हो । प्रतियोगितामा १ सय ३९ खेलाडी सहभागी थिए ।