
हुम्ला समाचारदाता, सिमकोट । खार्पुनाथ गाउँपालिकाले गाउँपालिकाभरका जनतालाई स्वास्थ्य बीमाका लागि अनुदान सहयोग गर्ने नीति लिएको छ ।सबै नागरिकलाई स्वास्थ्यमा सहज पहुँच होस् भन्नका लागि उक्त नीति लिइएको हो ।
केहीअघि सम्पन्न गाउँ सभाले सबै नागरिकको स्वास्थ्य बीमा गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताउनुुभयो । गाउँ सभाबाट नीतिगत निर्णय भएको र अब नीतिलाई कार्यान्वयन गर्न योजना तर्जुमा हुने उहाँले बताउनुभयो ।
जनताको उपचारका लागि निक्कै समस्या भएपछि यो नीति गाउँपालिका लिनेतर्फ लागेको उहाँले बताउनुभयो । अहिले स्वास्थ्य बीमाका एक जना नागरिकका लागि दुई हजार पाँच सय रुपियाँ लाग्ने र त्यसका लागि एक हजार रुपियाँ गाउँपालिकाले ब्यहोर्ने गरी योजना तर्जुमा हुने उहाँले बताउनु भयो ।
आगामी वैशाखबाट नेपाल सरकारले लागु गर्न लागेको स्वास्थ्य बीमा कार्यक्रम पनि लागु हुँदैछ । त्यसलाई पनि गाउँपालिकाको कार्यक्रमले सहयोग गर्ने भएको छ । खार्पुनाथ गाउँपालिकामा आठ हजारभन्दा बढी जनसङ्ख्या रहेको छ ।