नपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८१ असोज २ गतेको बैठकको निर्णय अनुसार शिखर साकोस, रामघाटका अध्यक्ष श्री भुपेन्द्र बहादुर सिंह राष्ट्रिय सहकारी विकास बोर्ड, कार्यकारी समितिको सदस्य पदमा नियुक्त हुनुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्डको सह–अध्यक्ष, सदस्य तथा सदस्य–सचिव नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०८१ को दफा ४ सँग सम्बन्धित बोर्डमा रिक्त रहेको कर्णाली प्रदेशको प्रतिनिधित्व रहने सदस्य पदमा उहाँलाई नेपाल सरकारले मनोनयन गरेको हो ।
राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ बमोजिम स्थापित यस बोर्डमा हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री मा.बलराम अधिकारीको अध्यक्षतामा नेपाल सरकारबाट नियुक्त हुनुभएका श्री मित्रराज दवाडी सह–अध्यक्ष र डा.खगराज शर्मा सदस्य–सचिव रहनुभएको छ । त्यसैगरी उक्त बोर्डको सदस्यहरुमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवहरुका साथै राष्ट्रिय योजना आयोगका प्रतिनिधि, सहकारी विभागका रजिष्ट्रार, केन्द्रीय सहकारी संघका अध्यक्षहरुले आफूमध्येबाट निर्वाचित गरेका दुई जना, सातै प्रदेशका सहकारी वा सामाजिक कार्यकर्ताहरुमध्येबाट नेपाल सरकारबाट मनोनित सात जना, महिला सहकारी कार्यकर्ताहरुबाट एक जना, सम्बन्धित विषयका विशेषज्ञहरुबाट दुई जना र कृषि विकास बैंकका महाप्रबन्धक रहने कानूनी व्यवस्था रहेको छ ।
उक्त विकास बोर्डले विशेषगरी सरकार र सहकारी आन्दोलनलाई नीतिगत विषयमा सहयोग गर्ने, सहकारी आन्दोलनलाई प्राविधिक तथा आर्थिक सहयोग मिलाउने र सरकार र सहकारी आन्दोलनबीच समन्वय गर्ने निकायको रुपमा काम गर्ने गर्दछ ।