नेपालगन्ज। वर्षौँदेखि अभाव र सङ्घर्षमा बाँचेका मुक्त कमैया र सुकुमवासीको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित बर्दियाको बढैयातालमा सञ्चालन गरिएको ‘फोर बेटर मोडल भिलेज’ कार्यक्रमको नेपालगन्जमा शुभारम्भ गरिएको छ ।
नेपालगन्जमा बिहीबार आयोजित एक कार्यक्रममा ‘फोर बेटर मोडल भिलेज’ को शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले कृषि उत्पादन र वातावरण संरक्षणलाई एकसाथ जोडेर गाउँको मुहार फेर्दै नमुना गाउँ बनाउने अभियानमा प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले विश्वभर अग्र्यानिक उत्पादन र उपभोगबारे बहस भइरहेको बेला लुम्बिनीको एउटा गाउँलाई नमुना बनाउने प्रयास अत्यन्त प्रशंसनीय रहेको जनाउँदै यस्ता कार्यक्रम अतिनै आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
कृषि उत्पादन, पोषण, वातावरण संरक्षण र जीवनस्तर सुधारलाई मुख्य आधार बनाएर दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यसहित खाद्य तथा कृषि सङ्गठन (एफएओ)को समन्वयमा बढैयातालमा ‘फोर बेटर मोडल भिलेज’ कार्यक्रम सञ्चालन गरिएको हो ।
सो कार्यक्रममार्फत मुक्त कमैया, मुक्त कम्लहरी तथा सुकुमवासी परिवारको बसोवास रहेको ३० घरधुरीको बढैयाताल गाउँपालिका–९, टेसनपुरलाई नमुना गाउँका रूपमा विकास गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले बताउनुभयो ।
उहाँले शुद्ध तोरीको तेल, दुग्धजन्य पदार्थ र कृषि उत्पादनका कारण बढैयातालले बेग्लै पहिचान बनाउँदै आएको उल्लेख गर्दै नयाँ परियोजनाले स्थानीयको जीवनस्तर अझ माथि उठाउने विश्वास व्यक्त गर्नुभयो ।
टेसनपुर नमुना कृषक समूहकी अध्यक्ष देवी घर्तीका अनुसार तालिमपछि स्थानीय महिलाहरूले एक लाख १० हजार रुपियाँ बराबरको च्याउ उत्पादन गर्न सफल भएका छन्। “यो कार्यक्रमले आम्दानी मात्र होइन, वातावरण जोगाउने सोच पनि विकास गरेको छ,” उहाँले भन्नुभयो ।
शुभारम्भ कार्यक्रममा एफएओका नेपाल–भुटान समन्वय अधिकारी केन सिन्जु र नेपाल कृषि सहकारी सङ्घका केन्द्रीय अध्यक्ष एकराज उप्रेती लगायतले नमुना गाउँलाई अग्र्यानिक तथा पोषणयुक्त खाद्य उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउनुभयो ।
सो अवसरमा कालिका साना किसान सहकारी संस्थालाई आधुनिक कृषि सामग्रीसहितको ‘कस्टम हाइरिङ सेन्टर’ स्थापना प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागी बढैयातालका महिला अगुवा किसानहरूले आ आफ्नो अनुभव तथा आवश्यकता सुनाउँदै सो सम्बन्धमा विस्तृत छलफल गर्नुभएको थियो भने सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो ।