चितवन। Chitwan Medical College ले स्वास्थ्य क्षेत्रमा आफ्नो विस्तारलाई तीव्र बनाउँदै काठमाडौँ र हेटौँडामा अत्याधुनिक अतिविशिष्ट अस्पताल सञ्चालन गर्ने भएको छ। भरतपुरमा स्थापित सिएमसी अब राजधानी र मधेस–पहाड जोड्ने रणनीतिक क्षेत्रमा प्रवेश गर्दै निजी स्वास्थ्य क्षेत्रमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने तयारीमा देखिएको छ।
काठमाडौँको तीनकुनेमा निर्माणाधीन “सिएमसी काठमाडौँ” अस्पताल अन्तिम चरणमा पुगेको छ। कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक Harishchandra Neupane का अनुसार आगामी दशैँको घटस्थापनाबाट अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
करिब १७ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको अस्पतालमा १२ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको छ। प्रारम्भिक व्यवस्थापन भारतको चर्चित Medanta Hospital ले गर्ने बताइएको छ, जसलाई नेपाली निजी स्वास्थ्य क्षेत्रमा ठूलो रणनीतिक सहकार्यका रूपमा हेरिएको छ।
तीन सय श्ययाको अस्पतालमा क्यान्सर उपचारलाई विशेष प्राथमिकता दिइनेछ। साथै मुटु, मिर्गौला, न्यूरो, ट्रमा, क्रिटिकल केयरलगायत बहुविशेषज्ञ सेवा उपलब्ध गराइने सिएमसीले जनाएको छ। विश्वस्तरीय उपकरण र विदेशमा अध्ययन–अनुभव हासिल गरेका विशेषज्ञ चिकित्सकमार्फत सेवा दिने योजना रहेको छ।
प्रा डा न्यौपानेका अनुसार यो नेपाली लगानीको निजी क्षेत्रकै सबैभन्दा ठूलो अस्पताल परियोजनामध्ये एक हुनेछ। “नेपालबाट भारतलगायत विदेशमा उपचारका लागि जाने बिरामीलाई स्वदेशमै उच्चस्तरीय सेवा दिने उद्देश्य हो,” उनले बताए।
उता मकवानपुरको हेटौँडामा पनि सिएमसी नेतृत्वमा नयाँ अतिविशिष्ट अस्पताल निर्माण सुरु गरिएको छ। Hetauda उपमहानगरपालिका–४ मा राजमार्गसँगै १९ कट्ठा जग्गामा “सिएमसी हेटौँडा अस्पताल” निर्माण भइरहेको हो।
अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक Pratap Devkota का अनुसार करिब २ अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण हुने १०० श्ययाको अस्पताल २०८४ सालको दशैँदेखि सञ्चालनमा ल्याउने लक्ष्य छ।
सिएमसी र स्थानीय लगानीकर्ताको साझेदारीमा बन्न लागेको यस अस्पतालले मकवानपुर तथा आसपासका जिल्लाका बिरामीलाई प्रत्यक्ष राहत दिने अपेक्षा गरिएको छ। हाल विशिष्ट उपचारका लागि भरतपुर, काठमाडौँ वा भारतसम्म जानुपर्ने बाध्यता रहेको अवस्थामा नयाँ अस्पतालले उपचार पहुँच सहज बनाउने विश्वास गरिएको छ।
स्थानीयस्तरमा रोजगारी सिर्जना, स्वास्थ्य पूर्वाधार विस्तार र क्षेत्रीय स्वास्थ्य सेवाको स्तर उकास्न पनि परियोजनाले योगदान दिने अपेक्षा गरिएको छ।
दुई दशकअघि Bharatpur महानगरपालिका–१० मा स्थापना भएको Chitwan Medical College हाल ७०० श्ययाबाट सेवा दिँदै आएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वास्थ्य शिक्षा सञ्चालन गरिरहेको यो संस्था नेपालमा धेरै बिरामी सेवा दिने मेडिकल कलेजमध्ये एक मानिन्छ।