काठमाडौं। नेपाल राष्ट्र बैंक का नवनियुक्त डेपुटी गभर्नर किरण पण्डित ले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। उहाँलाई गभर्नर विश्वनाथ पौडेल समक्ष शपथ गराइएको हो।
शपथ ग्रहणसँगै पण्डितले आजैदेखि औपचारिक रूपमा पदभारसमेत सम्हाल्नुभएको छ। नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत २४ गतेको निर्णयअनुसार उहाँलाई डेपुटी गभर्नरमा नियुक्त गरिएको थियो।
शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले नवनियुक्त डेपुटी गभर्नर पण्डितलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा बैंक सेवामा प्रवेश गर्नुभएको थियो। त्यसपछि उहाँ २०६८ मा उप–निर्देशक, २०७४ मा निर्देशक हुँदै २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति हुनुभएको थियो।
कार्यकारी निर्देशकका रूपमा रहँदा उहाँले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्व गर्नुभएको थियो भने बैंकको प्रवक्ताको जिम्मेवारीसमेत सम्हाल्नुभएको अनुभव छ।