काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीलाई लगानीमा निरुत्साहित बनाउने किसिमले सरकार अगाडि बढिरहेको धारणा राखेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बैंकका लगानीकर्तालाई अन्य क्षेत्रमा लगानी गर्नका लागि सरकारले निरुत्साहित बनाउने प्रयास गरिरहेको बताएका हुन् ।
उनले बैंकमा स्वामित्व भएकै कारण अन्यमा लगानी गर्न नपाउने हो भने उत्पादन र रोजगारी सिर्जनामा ठूलो समस्या सिर्जना हुने पनि बताएका छन् । बैंक तथा वित्तीय संस्था ऐन संशोधन गरेर सरकारले यस्तो प्रयास गर्न खोजिरहेको उनको दाबी छ ।
‘सरकार बैंक तथा वित्तीय संस्था ऐन (वाफिया) संशोधन गर्न खोजिरहेको छ, त्यसमा बैंकमा स्वामित्व भएका लगानीकर्तालाई अन्य क्षेत्रमा लगानी गर्न निरुत्साहित गर्न खोजिरहेको छ, बैंकिङ क्षेत्र आएको चार दशक बढी भइसकेको छ, यो क्षेत्रमा अर्थतन्त्रमा ठूलो योगदान छ, उद्योगी व्यवसायीको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन,’ उनले कार्यक्रममा भने ।
उनका अनुसार अहिले नेपाल राष्ट्र बैंकको नियमन आफैंमा कडा छ । ‘कर्जा दुरुपयोग भएको छ भने गलत गर्नेलाई कारवाही गरौं । तर, निषेध र नियन्त्रण गर्न नखोजौं, १ प्रतिशतभन्दा बढी सेयर भएको व्यक्ति तथा समूह भन्ने व्यवस्थाले निजी क्षेत्रलाई संकुचन गर्नसक्छ,’ उनले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा बिस्तारै सुधार देखिदा समग्र बजार चलायमान हुन थालेकाले यो अवसर सदुपयोग गर्न आग्रह गर्नु भएको छ । सरकारले स्थायित्व दिने विश्वासमा अर्थतन्त्रमा सुधारका स्पष्ट सकेत देखिएको बताउनु भएको हो । बजारमा देखिएको सुधारलाई ध्यान दिएर स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सरकार र निजी क्षेत्र बिच थप सहकार्यका लागि पनि अध्यक्ष ढकालले आग्रह गर्नु भएको छ ।
देशभित्र सेयर बजारमा उत्साह छ भने घरजग्गा कारोबार पनि बिस्तारै बढ्न थालेको र कर्जाको मागमा पनि सुधार भइरहेकाले यसलाई अझै चलायमान बनाउन आवश्यक रहेको अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।
पर्यटक आगमन बढिरहेको, रेमिट्यान्समा हालसम्मकै उच्च देखिएको,विदेशी मुद्राको सञ्चिति पर्याप्त हुँदा भुक्तानी सन्तुलन सहज अवस्थामा भएकाले लगानीकर्ताहरु लाइ विश्वासमा लिन सहज हुने पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।