नाइमाद्वारा अर्थमन्त्री वाग्ले समक्ष अटोमोबाइल क्षेत्र सुधारका सुझाव पेश,नीतिगत वातावरण आवश्यक


काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले अटोमोबाइल क्षेत्रसँग सम्बन्धित नीतिगत तथा प्रणालीगत सुधारका लागि सरकार समक्ष विभिन्न सुझाव प्रस्तुत गरेको छ।

नाइमाका अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बधाई तथा शिष्टाचार भेट गर्दै अटोमोबाइल क्षेत्रका समस्याहरू र समाधानका उपायहरूबारे ध्यानाकर्षण गराएको हो।

भेटका क्रममा नाइमाले अटोमोबाइल क्षेत्रलाई विलासिता नभई आवश्यकताको रूपमा मान्यता दिनुपर्नेमा जोड दिएको छ। साथै, स्थिर, पूर्वानुमानयोग्य र सरोकारवालासँगको परामर्शमा आधारित नीतिगत वातावरण आवश्यक रहेको उल्लेख गरिएको छ। समग्र कर भार घटाउने, कर संरचनालाई सरल र सन्तुलित बनाउने तथा सवारी साधन खरिदका लागि ८० प्रतिशतसम्म कर्जा सुविधा र २० प्रतिशत डाउन पेमेन्ट कायम गर्ने हायर पर्चेज व्यवस्था लागू गर्नुपर्ने माग पनि नाइमाले राखेको छ।

नाइमाले भन्सार जाँचपासपछि पनि फरक व्याख्याका आधारमा लेखापरीक्षण तहमा बेरुजु उठ्ने प्रवृत्तिले व्यवसायमा अनिश्चितता सिर्जना गरेको भन्दै स्पष्ट, पारदर्शी र एकरूप प्रणालीको आवश्यकता औंल्याएको छ। साथै भन्सार प्रक्रिया सहजीकरण, परीक्षण पूर्वाधार विकास, यातायात ऐनको पुनरावलोकन, डिजिटल प्रणाली एकीकरण, सडक सुरक्षा तथा प्रदूषण नियन्त्रणका विषयमा पनि सुझाव दिएको छ।

त्यसैगरी ‘मेक इन नेपाल’ अवधारणाअन्तर्गत एसेम्बलिङ उद्योग प्रवद्र्धन, दीर्घकालीन नीतिगत स्थिरता तथा विद्युतीय सवारी साधनका लागि प्रोत्साहनमुखी नीतिगत व्यवस्था आवश्यक रहेको नाइमाको भनाइ छ। हाइब्रिड सवारी साधनलाई प्रविधि अनुसार वर्गीकरण गरी सन्तुलित नीति ल्याउन पनि आग्रह गरिएको छ।