भैरहवा समाचारदाता
भैरहवा । रुपन्देहीमा शेयर बजारप्रतिको आकर्षण बढ्दै गएको छ । लगानीकर्ता परामर्श लिएर शेयर बजारमा लगानी गर्न थालेका छन् । सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कमल तिवारीका अनुसार शेयर बजारसँग सम्बन्धित विषय कम्पनीको पिइ रेसियो, एपिएस, नेटवर्थ, नाफा, नोक्सान बुझेपछि लगानीकर्ता यसतर्फ आकर्षित हुन थालेका हुन् ।
व्यवस्थापन संकायको स्नातक तहका विद्यार्थी, शिक्षक, गृहणी, व्यापारी र व्यवसायीलगायत छ महिनाको अवधिमा एकसय नयाँ लगानीकर्ताले रुपन्देहीका दलाल (ब्रोकर) कार्यालयमार्फत शेयर बजारमा लगानी गरिरहेको उहाँले बताउनुभयो । उनीहरुले रु एक लाखदेखि रु २० लाखसम्म लगानी गरेका छन् ।
“नयाँ लगानीकर्ता केही तालिम लिएर र केही परामर्श मात्रै लिएर पनि शेयर बजारमा लगानी गरिरहेका छन्”–अध्यक्ष तिवारीले भन्नुभयो । विगतमा लगानीकर्ताले हल्ला र नबुझेरै लगानी गर्दा जोखिमको सामना गर्नुपर्ने अवस्था थियो । “अहिले पूर्ण स्वचालित अनलाइन प्रणालीको सुरुवातबाट पनि नयाँ लगानीकर्ताले फाइदा लिन खोजेको देखिन्छ”–तिवारीले भन्नुभयो । शेयर बजार ‘प्यारालाइन स्टेट’ को अवस्थामा भएको बताइएको छ ।
यो अवस्था भनेको नेप्से परिसूचक घट्ने सम्भावना कम भएको र घटिहाले पनि थोरै अङ्कको तलमाथि हुने बताइएको छ । यस अवस्थामा बजारले न्यूनतम केही महिनादेखि अधिकतम एक वर्षसम्मको समय लिन्छ । खासगरी पुस, माघ र फागुन शेयर बजारका लागि ‘अफसिजन’ मानिन्छ । अब चैत लागिसकेकाले बजार ‘बुलिस’ चरणमा हुने आँकलन गरिएको छ । यहाँको ब्रोकर कार्यालयमा दैनिक झण्डै रु एक करोडको कारोवार हुने गरेको छ ।
तिलोत्तमा–८ का मुकुन्द चालिसेले साना लगानीकर्ताले अहिले पनि शेयर बजार बुझेर लगानी नगरेको बताउनुभयो । उहाँले शेयर बजारको सेकेन्डरी मार्केटमा बुझेर लगानी गर्न आग्रह गर्दै लगानीकर्ता धेरै महत्वकांक्षी भएको बताउनुभयो । विगत १० वर्षदेखि शेयर बजारमा अभ्यस्त हुनुभएका उहाँले शेयर बजारमा रु ३५ लाख लगानी गर्नुभएको छ ।
“ पहिले बुझेर लगानी गरेको होइन तर अहिले केही बुझिएको छ”–चालिसेले भन्नुभयो । रुपन्देहीमा पाँचवटा ब्रोकर कार्यालय छन् । यहाँका कार्यालयमार्फत शेयर खरीद तथा बिक्री गर्न दाङ, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पालगायतका लगानीकर्ता आउने गर्छन् । अहिले ब्रोकर कार्यालय बुटवल केन्द्रित छन् । प्रदेश पाँचको बजार बिस्तारसंगै भैरहवा र दाङमा पनि ब्रोकरका शाखा खोल्ने तयारी सुरु भएको छ ।
बुटवलमा आर्यनतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरटिज प्रालि ५७ नं ब्रोकरसहित दक्षिणकाली इन्भेष्टमेन्ट सेक्युरिटिज प्राली ३३ नं., लिन्च सेक्युरिटिज ४१ नं., एसियन सेक्युरिटी २६ नं. मिडास सेक्युरिटिजी २२ ब्रोकर कार्यालयले पनि शेयर खरिद बिक्रीको काम गर्दै आएका छन् ।