काठमाडौं। साउन महिनामा मात्र नेपाली आकासमा दुईवटा दुर्घटना भए । यसै पनि हाम्रो हवाई सुरक्षाका विषयमा प्रश्न उठिरहेको वेला यी दुर्घटनाले पुन नेपालको नागरिक उड्यन प्रति प्रश्न उठाएका छ । विश्वमै सुरक्षित, आरामदायी र छिटो यात्राका निम्ति हवाई यातायात भरपर्दो साधन मानिन्छ। यद्यपि विश्वमा प्रायः कतै न कतै साना ठुलाहवाई दुर्घटना भएका समाचार भने आइरहेकै हुन्छन्।
हवाईयात्राको इतिहासमा नेपाली आकाशपनि बढी दुर्घटना हुनेमा पर्दै आएकोछ। हवाई उडानको ६९वर्षको नेपाली आकाशको इतिहासमा १०९ वटा साना ठुला दुर्घटना भएका छन्र यी दुर्घटनामा परेर ९७४ जनाको दुःखद निधन भएको तथ्य सार्वजनिक छ।
गत साउन ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको निधन भएको पीडा सेलाउन नपाउँदै पुनः एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा बुधबार पाँच जनाको निधन भयो। सौर्य एयरलाइन्सको जहाज विमानस्थलबाट उडे लगत्तै दुर्घटना भएको थियो भने उक्त दुर्घटनाको १४ दिनमै एयरडाइनेस्टीको हेलिकोप्टर उडे लगत्तै नै बेपत्ता भई दुर्घटना भएको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा साउन २३गते भएको दुर्घटनाले नेपाली आकाशको असुरक्षालाई निरन्तरता दिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्लो दुर्घटना सहित नेपालमा हेलिकोप्टर दुर्घटनाका मात्रै सङ्ख्या ४१ पुगेको छ। विभिन्न कम्पनीका हेलिकोप्टर दुर्घटनामा परेर हाल सम्म ९७ जनाको ज्यान गइसकेको छ। हेलिकोप्टर दुर्घटनाको इतिहासमा सबैभन्दा ठुलो मानवीय क्षति भएको दुर्घटना ताप्लेजुङको हो। विसं २०६३मा तत्कालीन वनमन्त्री गोपालराई सहित वन तथा वातावरण क्षेत्रका विज्ञ सवार श्री एयरलाइन्सको हेलिकोप्टर खराब मौसमका कारण दुर्घटना हुँदा २४ जनाको निधन भएको थियो।
यसैगरी विसं २०७५मा पुनःताप्लेजुङमै एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित सातजनाको निधन भएको दुःखद स्मरण छ। पछिल्लो पटक विसं २०८० असार २६मा सोलुखुम्बुको लामजुरामा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा छ जनाको ज्यान गएको थियो। दुईदिन अघिमात्र अन्नपूर्णएयरको हेलिकोप्टर खराब मौसमका कारण बाँकेको राप्ती सोनारीको धानखेतमा आकस्मिक अवतरण गरेर दुर्घटना हुनबाट जोगियो। दुर्घटनाका शृङ्खला थपिँदै जाँदा नेपाली आकाशमा उडान सुरक्षितन भएको सन्देश बाह्य जगत्मा सम्प्रेषण हुने हुँदा पर्यटन उद्योगमा नकारात्मक प्रभाव पर्नसक्ने जोखिम छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३अनुसार नेपालमा वायुसेवा सञ्चालनको अनुमति दिने, वायुसेवा सञ्चालन सम्बन्धी अवस्था, मर्मत लगायतका मुख्यकार्यको अनुगमन नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्छ। प्राधिकरणलाई अनुगमनकारी र नियमनकारी दुई छुट्टाछुट्टै निकाय बनाउनुपर्ने आवाज उठ्न थालेको पनि धेरै भइसकेको छ। युरोपेली सङ्घले नेपाली ध्वजावाहकलाई युरोपको आकाशमा विसं २०७० देखि निरन्तर प्रतिबन्ध लगाउँदै आएकोमा प्रतिबन्ध फुकुवाका लागि उसले दुई छुट्टाछुट्टै निकाय बनाउन सुझाएको छ।यसै विषयलाई लिएर सङ्घीय संसद्मा समेत बहस प्रारम्भ भएको छ। दुर्घटनापछि सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिने प्रचलन अनुसार यो पटक पनि गठन भइसकेको छ। समितिले जहाज तथा हेलिकोप्टरका प्राविधिक कमजोरी भन्दापनि नियमनकारी निकाय र मानवीय पक्षको कमजोरीकै कारण धेरैजसो दुर्घटना हुने तथ्य देखाउने गरेका छन्।
दुर्घटनापछि हुने फितलो छानबिन र त्यसको कार्यान्वयनमा सरोकारवाला पक्ष उदासीन रहँदा दुर्घटना दोहोरिने गरेको हवाई विज्ञको बुझाइ नै आम जनताको पनि बुझाइ हो। नेपाली आकाशमा दुर्घटना बढ्नुमा मानवीय कमजोरीसँगै पहाडी भूगोल, अप्ठ्यारा विमानस्थल, साँघुरो धावनमार्ग, खराब मौसम, विमानस्थलमा आधुनिक उपकरणको अभाव, चराको विचरण, चालक दल माथि दबाब जस्ता कमजोरी दुर्घटना पश्चात्गठित जाँचबुझ समितिले बुझाएका प्रतिवेदनमा आउने गरेकाछन्। सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्ने बित्तिकै दुर्घटनामा परेको सम्बन्धमा छानबिन गर्न सरकारले आयोग गठन गरेकोमा प्रतिवेदन आउन बाँकी नै छ।
एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको सत्यतथ्य छानबिन गर्नपनि सरकारले बुधबार नै तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। प्राधिकरणका अनुसार रसुवाको स्याफ्रुबेँसीका लागि उडेको हेलिकोप्टर दुर्घटना हुँदा चालक अरुण मल्ल र चार जना चिनियाँ नागरिकको निधन भएको छ। भरोसा गरौँ, छानबिन समितिले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउने नै छ। मूलकुरा त प्रतिवेदन कार्यान्वयन कै हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हवाई सुरक्षाको विषयलाई उच्चतम प्राथमिकतामा राखेर तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरिसकेको बताउनु भएको छ। आगामी दिनमा उस्तै किसिमका कमजोरीबाट हवाई दुर्घटना दोहोरिन नदिन पछिल्ला प्रतिवेदनका साथै यसअघिका प्रतिवेदन पनि तत्काल कार्यान्वयनमा ल्याउन वाञ्छनीय छ।