काठमाडौं। यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । देशभरक तोकिएका परीक्षा केन्द्रबाट आज बिहान ८ः०० बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुँदैछ।
यही चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन् । तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् । परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुनेछन् ।
जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदैछन् । परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
परीक्षा नियन्त्रण कार्यालयले सातै प्रदेशका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
यस वर्ष परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गरिसक्ने योजना छ । यसैगरी ‘मार्कस्लिप प्रिन्ट’ गरी ‘ट्याब’मा चढाई खाममा ‘सिलबन्दी’ गरी गोप्य र सुरक्षित रूपमा शिक्षा विकास तथा समन्वय एकाइमा तीन दिनभित्र बुझाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । केन्द्रले प्राप्त हुने उत्तरपुस्तिकामा ‘प्याकेट’ तोकिएको ढाँचामा लगत खडा गरी राख्नेछ । तत्पश्चात् सिलबन्दी खाममा परीक्षा केन्द्र र विषय उल्लेख गरेर परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) मा पठाउनुपर्नेछ ।