छैठौं इस्टर्न ट्राभल मार्ट २०२६ अाजदेखि इटहरीमा सुरु


इटहरी । नेपाल पर्यटन बोर्ड र इटहरी उपमहानगरपालिकाको सहकार्यमा छैठौं इस्टर्न ट्राभल मार्ट २०२६ शनिबारदेखि इटहरीमा सुरु भएको छ ।

कोशी प्रदेशका पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने लक्ष्यसहित सुरु भएको ट्राभल मार्ट तीन दिनसम्म सञ्चालन हुनेछ।

कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भिम पराजुलीले कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक र धार्मिक हिसाबले अत्यन्त समृद्ध रहेको उल्लेख गर्दै इस्टर्न ट्राभल मार्ट सफलताको शुभकामना व्यक्त गरेका छन् । उनले भने, “कोशी प्रदेश नेपालको पर्यटनको ‘गेटवे’ बन्ने क्षमता राख्छ । हामी यसलाई योजनाबद्ध रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने दिशामा अघि बढिरहेका छौं ।” मन्त्री पराजुलीले जैविक विविधता, सिमसार क्षेत्र र वन्यजन्तु पर्यटनका दृष्टिले पनि यो प्रदेश सम्पन्‍न भएको उल्लेख गरे ।

उनले भने, “संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथादेखि समुद्री सतहबाट होचो स्थानमा रहेको कचनकवलसम्म यही प्रदेशमा पर्दछन् । यहाँको पर्यटनको अन्तर्राष्ट्रिय बजारमा प्रबर्द्धन गर्न प्रदेश सरकारले पर्यटन पूर्वाधार विकास, लगानी तथा नीति सहजीकरणमा निरन्तर काम गरिरहेको छ । आगामी दिनमा पनि पर्यटन विकासका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।“

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मार्ट पूर्वी नेपालको पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी मञ्च बन्ने विश्वास व्यक्त गरे। “हामी पर्यटनलाई अर्थतन्त्रको प्रमुख आधारका रूपमा अगाडि बढाइरहेका छौं,” उनले भने, “१६औं आवधिक योजना र ‘नेपाल पर्यटन दशक’ अभियानमार्फत पर्यटनलाई रोजगारी र आय वृद्धिको मुख्य माध्यम बनाइँदैछ । सचिव निरौलाले पूर्वी नेपालको पर्यटन अब सम्भावनाको चरणमा मात्र छैन, कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै इष्टर्न ट्राभल मार्ट जस्ता मञ्चहरूले यसलाई अन्तर्राष्ट्रिय बजारमा कोशीलाई चिनाउने आधार तयार गरेको बताएका छन् । “हामीले पर्यटनलाई संख्या केन्द्रित मात्र नभई सेवाको गुणस्तर र पर्यटकको अनुभव सुधार्न सक्यौं भने नेपाल स्वतः विश्व बजारमा प्रतिस्पर्धी बन्नेछ,” सचिव निरौलाले थपे, “कोशी प्रदेशको भौगोलिक विविधता आफैंमा एउटा ‘पूर्ण पर्यटन प्याकेज’ हो । यसको विकासका लागि सरकारले नीतिगत स्थायित्व र लगानी सुरक्षामा जोड दिइरहेको छ । यसले निजी क्षेत्रलाई अझ सक्रिय बनाउनेछ र पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थप्नेछ ।”

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटनलाई संस्कृति, अर्थतन्त्र र मानिसलाई जोड्ने माध्यमको रूपमा व्याख्या गर्दै पूर्वी नेपाललाई साहसिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको महत्वपूर्ण केन्द्र भएको बताएका छन्। उनले मकालु, कञ्चनजङ्घा क्षेत्रका ट्रेकिङ मार्ग, इलामका चिया बगान, धार्मिक स्थलहरू र साहसिक गतिविधिहरूले पूर्वी नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सक्ने बताए। “इस्टर्न ट्राभल मार्ट केवल कार्यक्रम होइन, सहकार्य र दीर्घकालीन साझेदारी निर्माण गर्ने प्लेटफर्म हो,” उनले भने ।

नेपाल एसोसिएसज अफ टुर एण्ड ट्राभल्स नाटा कोशी प्रदेशका अध्यक्ष तथा मार्ट संयोजक पूण्य प्रसाद भट्टराईले मार्टको उद्देश्य सीमा क्षेत्रका पर्यटन व्यवसायीहरूलाई एउटै प्लेटफर्ममा ल्याई व्यापार विस्तार गर्नु रहेको बताए । “यो मार्ट कोशी प्रदेशको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मञ्च हो,” उनले भने । कार्यक्रममा बिटुबी बैठक, प्यानल छलफल र गन्तव्य अवलोकन कार्यक्रम समावेश गरिएको पनि उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरलाई पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको थियो । वरिष्ठ निर्देशक ऐरले नेपालको पूर्वी क्षेत्रको पर्यटन प्रबर्द्धनसहित देशभरका सातै प्रदेशमा ट्राभल मार्ट सुरु गरेका थिए । जसले सीमावर्ती पर्यटन बजारलाई जोड्न महत्वपूर्ण कडीको रुपमा लिइएको छ ।

कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह लगायत भारत र भुटानबाट आएका पर्यटन व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

आयोजकका अनुसार भारतका बंगाल, बिहार र सिक्किम तथा भुटानबाट १०० भन्दा बढी अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीको सहभागिता र नेपालका विभिन्न प्रदेशबाट ५० भन्दा बढी व्यवसायी सहभागी भएका छन् ।

मार्ट आगामी चैत १६ गतेसम्म सञ्चालन हुनेछ।