आजेदेखि कालंगा हाइड्रोपावरको आईपीओ खुल्ला


काठमाडौं। कालंगा हाइड्रो लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानी र वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ खुला गरेको हो ।

कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर प्रतिकित्ता १०० रुपैयाँका दरले ४९ लाख कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको छ । यसमध्ये १४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। स्थानीयका लागि छुट्याइएकोमध्ये ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्र बझाङ्ग जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नं. ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं. ६ र ८, बुंगल नगरपालिकाको वडा नं. ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं. १ र २ तथा दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वडा नं. १ का स्थायी बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ। बाँकी ४ लाख ९० हजार कित्ता बझाङ्ग, जिल्लाको केदारस्यूँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका र दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाको अतिप्रभावित क्षेत्रमा नपरेका सम्पूर्ण वडाहरूका स्थायी बासिन्दाका लागि छुट्याइएको छ।

यसैगरी सर्वसाधारणतर्फ छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिनेछ । यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन दिने अवधि छिटोमा चैत २४ गतेसम्म रहनेछ । सबै सेयर बिक्री नभएमा ढिलोमा वैशाख ९ गतेसम्म आवेदन खुला रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन अवधि छिटोमा चैत १५ गतेसम्म र ढिलोमा चैत २४ गतेसम्म कायम रहनेछ।

 

कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ’ दिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसहित आयोजनास्थल कार्यालय र तोकिएका विभिन्न बैंक शाखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै, मेरो शेयरमार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध हुनेछ।