काठमाडौं। काठमाडौं उपत्यकामै सबभन्दा लामो समय चल्ने रातो मच्छन्द्रिनाथ रथयात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो देखाइएको छ।
मच्छन्द्रिनाथको रथ जावलाखेल पुर्याइएको आइतबारअन्तिम दिन राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका हुन्।
राष्ट्रपति पौडेलसँगै भोटो अवलोकन गर्न उपराष्ट्रपति रामसहाय यादब, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सहरी विकासमन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायतको उपस्थिति थियो।
भोटो जात्रामा प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, सभामुख लगायत स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो।
गुठी संस्थानका अनुसार रातो मच्छन्द्रिनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो देखाइने कार्यक्रम तय हुने गरेको छ। भोटो देखाएसँगै रातो मच्छन्द्रिनाथको रथयात्रा समापन भएको छ। भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा समापन हुने परम्परा छ।
रातो मच्छन्द्रिनाथको रथयात्रा परम्परा करिब १६ सय वर्षअघि सुरु भएको मानिन्छ, मच्छन्द्रिनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित रहेको मानिन्छ। काठमाडौं उपत्यकामा १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरुवात गराएको मानिन्छ।
यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म झन्डै दुई महिना चल्छ । ३२ हात अग्लो रथ बाजागाजा सहित ललितपुरका टोलहरूमा परिक्रमा गराइन्छ।
वि.सं.- ५४६ देखि सुरु भएको मानिएको मच्छन्द्रिनाथलाई सहकालका देवताका रुपमा हिन्दू तथा बौद्ध धर्मावलम्बी मनाउँछन्।