स्थिर सरकार र समृद्धिको माग गर्दै विजय कुमार शर्माको समिक्षा 


लेखक तथा स्वतन्त्र अभियन्ता विजय कुमार शर्मा ले देशमा राजनीतिक स्थिरता र समृद्धिको यात्रालाई बलियो बनाउने समय आएको बताएका छन्। उनले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाली जनताले अस्थिरताको चक्र तोड्दै स्थिर सरकारको पक्षमा स्पष्ट जनमत दिएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा उनले विगत लामो समयदेखि सरकार परिवर्तनको चक्रमा परेको देशले अब स्थिर शासनको आधार तयार पार्नुपर्ने बताएका छन्। जनमतलाई उत्सवको रूपमा मात्र नभई राज्य र नेतृत्वलाई जिम्मेवारीतर्फ झकझक्याउने शान्तिपूर्ण खबरदारीका रूपमा लिनुपर्ने उनको भनाइ छ।

शर्माले राजनीतिक स्थिरता केवल अंकगणितीय बहुमत मात्र नभई आम नागरिकको जीवनसँग जोडिएको विषय भएको बताएका छन्। उनका अनुसार स्थिर सरकार भएमा रोजगारी, उत्पादन, लगानी र विकासका अवसर विस्तार हुँदै देश समृद्धिको बाटोमा अघि बढ्न सक्छ।

उनले आफूले देशभरका नागरिकको भावना र अपेक्षा बुझ्न विभिन्न स्थानमा पुगेर संवाद गरेको उल्लेख गर्दै ती आशा र सपनालाई साकार पार्न नयाँ सरकारलाई सकारात्मक दबाब र सुझाव दिने उद्देश्य रहेको बताए।

विज्ञप्तिको अन्त्यमा उनले राष्ट्र निर्माणको अभियानमा सञ्चार माध्यम र नागरिक समाजले साथ दिन आग्रह गर्दै स्थिरता र समृद्धिको साझा लक्ष्यतर्फ सबैलाई एकजुट हुन अपिल गरेका छन्।

मिति: २०८२ चैत १ गते।