काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं आगामी १२औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रोबिन प्रसाद शेरचनले संघको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न माग गरेका छन्।
उपाध्यक्ष शेरचनले एनआरएनएलाई बलियो, एकीकृत र उत्तरदायी बनाउन संकटको समयमा सहकार्य र एकताको उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै विश्वभर रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई धैर्य र संयम रहन अपिल गरेका छन्।
विशेष अपिल:
विश्वभर रहनुभएका सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार !
हामी गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको संघारमा उभिएका छौं। यही सन्दर्भमा आगामी मार्च १४ देखि १६ (फागुन ३० देखि चैत २ गते) सम्म काठमाडौँमा तय भएको महाधिवेशनका बारेमा आफ्ना केही गम्भीर धारणाहरू सार्वजनिक गर्न चाहन्छु।
मनमा उत्साह र जिम्मेवारीको बोध हुँदाहुँदै पनि वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिले हामीलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाएको छ। विशेष गरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला असहज घटनाक्रमका कारण गोरखाका २९ वर्षीय नेपाली श्रमिक दिवस श्रेष्ठको दुःखद निधन भएको छ भने त्यहाँ कार्यरत लाखौँ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रत्यक्ष रूपमा प्रभावित हुनुभएको छ। यस्तो संवेदनशील घडीमा हाम्रो पहिलो प्राथमिकता त्यस क्षेत्रमा अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार, सहजीकरण र उहाँहरूको मनोबल उच्च राख्नु हुनुपर्छ भन्ने मेरो दृढ मत छ।
संकटमा परेका नेपालीहरूलाई साथ र सहयोग गर्नु नै हाम्रो साझा संस्था एनआरएनएको मूल मर्म र उद्देश्य पनि हो। आज हजारौँ नेपालीहरूले आशा र भरोसाका साथ एनआरएनएतर्फ हेरिरहनुभएको छ। यस्तो विषम परिस्थितिमा मानवीय संवेदनालाई बिर्सेर यदि हामी चुनाव र पदका लागि मात्र केन्द्रित भयौं भने त्यो संस्थाको मर्म र भावना विपरीत हुनेछ भन्ने मलाई महसुस भएको छ।
साथै, मध्यपूर्वको असहज अवस्थाका कारण युरोप, अमेरिका तथा मध्यपूर्वबाट नेपालमा पुगी महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि हाललाई यात्रा असुरक्षित मात्र होइन, अनिश्चित समेत देखिएको छ। अभियन्ताहरू र एनआरएनएका अग्रजहरूको व्यापक र सुरक्षित सहभागिताविनाको महाधिवेशन अपूर्ण रहने यथार्थ हामीले भुल्नु हुँदैन।
मार्च १४ देखि १६ सम्म काठमाडौँमा तय भएको महाधिवेशनको संघारमा एक विशेष अपिल जारी गर्दै शेरचनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र संस्थाभित्रको प्रक्रियागत विवादका कारण निर्वाचन प्रक्रिया रोक्न निर्वाचन समितिलाई आग्रह गरेका हुन्।
शेरचनले विशेष गरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला असहज घटनाक्रमलाई मुख्य कारणका रूपमा अघि सारेका छन् । संकटको यस घडीमा हजारौँ नेपालीहरूले आशा र भरोसाका साथ एनआरएनएतर्फ हेरिरहेको उल्लेख गर्दै उनले मानवीय संवेदनालाई बिर्सेर चुनाव र पदमा मात्र केन्द्रित हुनु संस्थाको मूल मर्म विपरीत हुने जिकिर गरेका छन् । उनले मध्यपूर्वको असुरक्षाका कारण युरोप, अमेरिका र स्वयं मध्यपूर्वबाट नेपाल आउने प्रतिनिधिहरूको यात्रा समेत अनिश्चित बनेको अवस्थामा अग्रज र अभियन्ताहरूको व्यापक सहभागिताविनाको महाधिवेशन अपूर्ण रहने देखिने बताएका छन।
यसैगरी, शेरचनले संस्थाभित्रका प्राविधिक र वैधानिक त्रुटीहरू नसच्याई अघि बढ्नु आत्मघाती हुने चेतावनी दिएका छन् । उनले कुल पञ्जीकृत सदस्यहरूको प्रमाणीकरणसहितको आधिकारिक विवरण सार्वजनिक नगरिएको, शुल्क नबुझाएका एनसीसी र सदस्यहरूको सूची अझै अपारदर्शी रहेको तथा विधानले तोकेको ३० दिनको अनिवार्य समयसीमा पालना नगरिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । यी तमाम समस्या र विवादका बीच पनि यदि महाधिवेशन गर्नैपर्ने बाध्यात्मक अवस्था हो भने चुनावी प्रतिस्पर्धाबाट नभई सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
सन् २०२१ को महाधिवेशनमा प्रतिनिधि विवादका कारण उत्पन्न फुट र तित्तताको घाउ अझै निको नभएको स्मरण गराउँदै शेरचनले फेरि पनि कसैको वैधानिक अधिकारलाई बेवास्ता गरे संस्थालाई थप क्षति पुग्ने बताएका छन् । उनले विवादित प्रक्रियामा सहभागी भएर संस्थाको मर्यादामा आँच आउने काम आफूबाट नहुने स्पष्ट पार्दै पदभन्दा संस्था र यसको विश्वसनीयता आफ्नो लागि सर्वोपरी रहेको उद्घोष गरेका छन् ।
परिस्थिति सामान्य भई सबै प्रतिनिधिहरूले सुरक्षाको प्रत्याभूति पाएपछि मात्र बृहत्तर एकतासहित महाधिवेशन सम्पन्न गर्नुपर्ने उनको प्रस्ताव छ।