ताप्लेजुङ्ग। नेपालकी प्रधानमन्त्री सुशीला कार्की पूर्वी हिमाली क्षेत्रका कतिपय जिल्ला भ्रमणमा रहँदै पाथीभरा मन्दिर पुगेर दर्शन–पूजा आराधना गरेकी छिन्। यस भ्रमणको मुख्य उद्देश्य आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन (फागुन २१) सम्बन्धी तयारी र सुरक्षा व्यवस्था को स्थलगत अवलोकन गर्दै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्नु हो।
प्रधानमन्त्री कार्की बिहान करिब ८ बजे पाथीभरा मन्दिर पुगेकी थिइन् र पूजा–आराधना पछि जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्बन्धित सुरक्षाव्यवस्था तथा निर्वाचन तयारीबारे छलफल कार्यक्रममा सहभागी भएकी छन्। त्यहाँ स्थानीय सुरक्षा प्रमुख, निर्वाचन अधिकृत तथा अन्य सरोकारवालाले विस्तृत जानकारी दिइरहेका छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै भनिन् –
“फागुन महिना, निर्वाचन महिना, पाथीभराबाट सुरुआत गर्दै शान्तिपूर्ण निर्वाचनका लागि कामना गर्दछु।”
यसअघि, प्रधानमन्त्री कार्कीले सोलुखुम्बु तथा भोजपुर जिल्लामा पनि भ्रमण गरेर चुनाव तयारी र सुरक्षा अवस्थाबारे उच्च तहका अधिकारीहरूबाट विवरण लिएकी छन्। उनले अर्को महिना हुन लागेको निर्वाचनको लागि सुरक्षा निकायहरुलाई उच्च सतर्कता र मजबुत समन्वय कायम गर्न निर्देशन समेत दिएकी छन्।
सरकारले हिमाली तथा कठिन भौगोलिक क्षेत्रका लागि पर्याप्त सुरक्षा संयन्त्र तथा आपूर्ति व्यवस्थापन तय गरेको बताएको छ र सबै निर्वाचक, उम्मेदवार तथा मतदाता सुरक्षित रूपमा मतदान गर्न सक्षम हुने वातावरण बनाउन मुख्य जोड दिइरहेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले गत केही दिनदेखि सोलुखुम्बु, भोजपुर र अन्य हिमाली जिल्लामा भ्रमण गर्दै निर्वाचनको स्थलगत स्थितिबारे प्रत्यक्ष जानकारी लिनु भएको छ। उनले यस भ्रमणको क्रममा निर्वाचन मितिमा कुनै ढिलाई नहुने र सबै जिल्लामा मतदान समयमै तथा शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास दिलाएकी छन्।