काठमाडौं । शेयर बजार परिसूचक नेप्से लगातार तीन कारोबार दिन घटेको छ । मंगलवार भने नेप्से १८ दशमलव ७६ अंक घटेर बन्द भएको छ । यससँगै परिसूचक २ हजार ७६ दशमलव ४९ विन्दुमा कायम भएको छ ।
शेयर बजारमा लगाइने करका विषयमा विभिन्न हल्ला फैलिएकाले आज नेप्से प्रभावित भएको लगानीकर्ता बताउँछन् ।
बजार घट्दा कारोबार रकमसमेत दिनहुँ घट्न थालेको छ । अघिल्लो कारोबार दिन रू. ५ अर्बभन्दा बढीको कारोबार भएकोमा आज रू. ४ अर्ब ५ करोडमा झरेको छ ।
मंगलवार सेन्सेटिभ इन्डेक्स १ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ९८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशलमव ०६ प्रतिशत घटेको छ ।
यस दिन ३१८ धितोपत्रको ९५ लाख ४४ हजार ७३४ कित्ता शेयर ५८ हजार ११९ पटकमा रू. ४ अर्ब ५ करोड बराबरको कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ४०९ पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीको दोस्रोमा माण्डु हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य ७ दशमलव ८३ प्रतिशत बढेर रू. १ हजार ५ पुगेको हो ।
मंगलवार दुई कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ६२० र कुथेली बुखरी हाइड्रोपावरको रू. १ हजार ५५७ मा झरेको छ ।
यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा बरुण हाइड्रोपावर कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ११ करोड २७ लाख बराबरको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३०८ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा रहेको सिइडिबी हाइड्रोपावर डेभपमेन्ट कम्पनीको रू. ११ करोड १३ लाख बराबरको कारोबार भएको हो ।
मंगलवार कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक सबै घटेका छन् । सबैभन्दा बढी बैंकिङ्ग समूहको सूचक १ दशमलव १६ प्रतिशत घटेको छ ।